अभिनेता सुलेमान शंकर, जसले ‘इकु’को भूमिकामा दर्शकहरूको मन जितेका थिए, १८ वर्षपछि पुनः ‘मेरी बास्सै’ टेलिभिजन श्रृंखलामा फर्कन लागेका छन्।
सुलेमानले आफूले धुर्मुस र माग्ने बुढासँग श्रृंखला सुरु गरेको स्मरण गर्दै भने, “बीचमा पनि फर्कनुपर्छ भनेर अफर आइरहेकै थियो, तर समय जुरेको थिएन। अब भने नियमितरुपमै काम गर्ने गरी फर्कने निधो भएको छ,” उनले नेपाल अनलाइन पत्रिका सँगको कुराकानीमा बताए।
सुलेमान शंकर (इकु)ले शनिबारदेखि ‘मेरी बास्सै’ टेलिभिजन श्रृंखलाको छायांकनमा सहभागिता जनाउनेछन्। उनले भने, “पहिलेदेखि अहिलेका बच्चालाई सम्झाउने गरी म इकुकै क्यारेक्टरमा देखिनेछु।” सुलेमानले आफूलाई ‘मेरी बास्सै’मा फर्कनुपर्छ भनेर थुप्रै कल र मेसेजहरू आइरहेको कारणले श्रृंखलामा पुनः फर्कने निर्णय गरेको बताए।
त्यतिबेला केदार घिमिरे (माग्ने बुढा) र सीताराम कट्टेल (धुर्मुस)ले निर्देशन गरेको एपिसोडबाट सुलेमान शंकर इकुको रुपमा चर्चित बनेका थिए।
उनले ‘मेरी बास्सै’का ५६ औं एपिसोडसम्म काम गरेका थिए। अहिले श्रृंखला ८६७ औं एपिसोडसम्म आइपुगेको छ। यसअघि सुलेमानले ‘हल्का रमाइलो’का केही एपिसोडमा पनि काम गरेका थिए।

