नेपाल अनलाइन पत्रिका। नायिका वर्षा राउतले अब नाटकमा डेब्यू गर्ने भएकी छिन्। विमल सुवेदीको निर्देशनमा मञ्चन हुन लागेको ‘हिटलर आउँदैछ’ बाट उनले नाटकमा डेब्यू गर्न लागेकी हुन्।
यो नाटकको वर्कशपका लागि वर्षा अहिले अमेरिकामा छिन्। फिल्म ‘तेल भिसा’को छायांकन सकिएपछि नेपाल फर्किएकी वर्षा केही दिनमै अमेरिका पुगेकी हुन्। नाटकमा वर्षासँगै कलाकार जोयस पाण्डेले पनि अभिनय गर्नेछन्। यस नाटकको लेखन विमल र जोयसले मिलेर गरेका हुन्।
अमेरिकाको ओहायो राज्यमा रहेको एक्रोन सिभिक थिएटरमा यो नाटक मञ्चन हुनेछ। वर्षाका अनुसार, नाटकको प्रिमियर भदौको २३ गते हुनेछ। नाटकका लागि आफू निकै उत्साहित भएको वर्षाले बताएकी छिन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा वर्षा निकै उत्साहित देखिइन्। निर्देशक विमल सुवेदीका अनुसार, यो नाटकले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निस्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा, र उनीहरुको पुस्ताले भोगेको मानसिक र पहिचानको संकटलाई प्रस्तुत गर्नेछ।
वर्षाले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै आफू नाटकमा डेब्यू गर्न पाउँदा उत्साहित भएको र पहिलेदेखि नै नाटकमा काम गर्ने इच्छा रहेको बताएकी छिन्।

