१० वर्षअघि रिलिज भएको फिल्म ‘जेरी’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ। निर्माता मनोज शेरचनले शुक्रबार वक्तव्य जारी गर्दै दोस्रो सिक्वेलको रुपमा ‘जेरी २’ बनाउने घोषणा गरेका छन्।
अनमोल केसी र आना शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘जेरी’को प्रदर्शन २०७१ साल कात्तिक २८ गते भएको थियो। विज्ञप्तिमा भनिएको छ, ‘अहिले स्क्रिप्ट लेख्ने काम भइरहेको छ। हामी निकट भविष्यमा जेरी २ बनाउँदैछौं।’
‘जेरी २’ मा कलाकार को हुने भन्ने बारेमा अहिलेसम्म कुनै ठोस निर्णय नभएको निर्माता मनोज शेरचनले जनाएका छन्। साथै, विज्ञप्तिमा उनले हाल निर्माण भइरहेको अर्को फिल्म ‘जेरी अनटप’ आफ्नो फिल्म ‘जेरी’को सिक्वेल नरहेको स्पष्ट पारेका छन्।
‘पुरानो जेरीसँग जेरी अनटपको कुनै साइनो छैन,’ शेरचनले विज्ञप्तिमा भनेका छन्। यसैबीच, ‘जेरी’को सिक्वेलसँग नाम नजुधाउन आग्रह गर्दै शेरचनले चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा निवेदन दिएको जनाएका छन्। हालसम्म बोर्डले उक्त निवेदन दर्ता गरेको छैन।
बोर्डकी प्रशासन अधिकृत अप्सरा समालले ‘जेरी’ निर्माताको रुपमा शेरचनको निवेदन प्राप्त भएको बताइन्। उनले भनिन्, ‘हामीले यसबारे बुझ्ने काम गरिरहेका छौं। उहाँले नाम नजुधाउन र कतिपय कुराको छानबिनका लागि आग्रह गर्नुभएको रहेछ।’
यतिबेला अनमोल केसी, आँचल शर्मा, र जसिता गुरुङलाई शीर्ष भूमिकामा लिएर अर्को फिल्म ‘जेरी अनटप’को छायांकन सुरु हुँदैछ। यस सन्दर्भमा ‘जेरी’ निर्माता शेरचनको विज्ञप्ति आएको हो। नाम एउटै हुँदा दर्शकमा भ्रम पैदा भएको शेरचनको दाबी छ।

