नेपाल अनलाइन पत्रिका। लगातारको सेयर बजारको वृद्धि मंगलबार पनि रोकिएन। अघिल्लो दिन सामान्य २ अंकले नेप्से बढेकोमा मंगलबार ७५.३३ अंकले वृद्धि भई नेप्से २५६३.४३ बिन्दुमा पुगेको छ। यो २९ महिनाको सबैभन्दा उच्च बिन्दु हो।
२०७८ चैतको अन्तिममा नेप्से सूचक २५०० बिन्दुमा थियो। मंगलबार उच्च कारोबार हुँदै १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको ३ करोड ९७ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ।
सबैभन्दा बढी शिभम् सिमेन्टको २४ करोड ६९ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अपी पावर कम्पनीको २४ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार बोटलर्स नेपाल, संवृद्धि फाइनान्स कम्पनी, माण्डू हाइड्रोपावर, हाथ्वे इन्भेष्टमेन्ट नेपाल र नेपाल वेरहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ। दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
१३ वटा उपसूचकमध्ये मंगलबार सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ५.०६ प्रतिशतले बढेको छ। जीवन बीमा समूहको ४.४५ प्रतिशतले र निर्जीवन बीमा समूहको उपसूचक ४.३७ प्रतिशतले बढेको छ। अरू १० वटा उपसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन्।

