काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशनले ब्रोइलर कुखुराको रोग मानिसमा सर्न सक्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा देखापरेको छ’ भन्ने हल्लामा कुनै आधार नभएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ कि केही व्यक्तिहरूले वैज्ञानिक प्रमाण र कारण बिना नै सामाजिक सञ्जालमा भ्रामक पोष्ट गरी जनमानसमा त्रास फैलाएको छ। ‘ब्रोइलर कुखुराको मासु सेवनबाट कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा स्पष्ट पारिएको छ। त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभिएले आग्रह गरेको छ।
भ्रामक र अवैज्ञानिक जानकारी सम्प्रेषण गर्ने कार्य तत्काल बन्द गर्न र गलत जानकारी फैलाउने व्यक्तिलाई कारबाही गर्न एशोसिएशनले माग गरेको छ।

