नेपाल अनलाइन पत्रिका। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तार हुने गरी नयाँ मौद्रिक नीति ल्याएको बताएका छन्। उनले मौद्रिक नीति लचिलो बनाउँदै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा विस्तार गर्न प्रोत्साहन गरिएको बताएका छन्। अधिकारीले निजी क्षेत्रको मनोबल उकास्ने र असल ऋणीलाई सहजता प्रदान गर्ने उद्देश्यले यो नीति ल्याइएको बताए|
गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको हित हुने गरी मौद्रिक नीति ल्याइएको उल्लेख गर्दै, यसले बैंकहरूमा रहेको पुँजीको दबाब कम गर्ने र कर्जा विस्तारमा टेवा पुग्ने बताएका छन्। उनले कर्जा पुनः संरचना तथा पुनः तालिकीकरण, घरजग्गा कर्जा तथा शेयर कर्जालाई केही खुकुलो बनाउनुपर्ने सुझाव विभिन्न क्षेत्रबाट आएको बताए|
यस मौद्रिक नीतिमा मूल्यवृद्धि नियन्त्रणमा राख्न र आर्थिक वृद्धिदर बढाउन प्राथमिकता दिइएको छ। चालू पुँजी कर्जा मार्गदर्शनमा लचकता अपनाउने र अनिवार्य नगद अनुपात, बैंकदर र स्थायी तरलता सम्बन्धी सुविधाहरू पनि समावेश गरिएको छ|
यस नीतिले विशेषगरी पर्यटन, निर्माण र औद्योगिक क्षेत्रमा लगानी बढाउने र आपूर्तिकर्ताहरूको मनोबल बढाउने उद्देश्य राखेको छ|

