नेपाल अनलाइन पत्रिका। गएरातिको लगातारको वर्षाले पहिरो गएपछि माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक क्षति भएको छ।
गत वर्ष निर्माण गरिएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने मुख्य मार्गमा ठूला सवारीसाधन रोकिएका छन्। प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले आजदेखि अर्को सूचना नभएसम्म हल्का सवारीसाधनबाहेक ठूला सवारीसाधन लैजान रोक लगाइएको बताए।
स्थानीयहरूका अनुसार, राज्यको ठूलो लगानीबाट निर्माण गरिएको ग्याबिन पर्खालको मजबुती नहुँदा सडक मार्गमा क्षति पुगेको हो। ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा पनि जोखिम बढेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले जनाए अनुसार, सडकमा पानी जम्न नदिइ अन्यत्र निकास गर्ने, भित्ताको पानीलाई पाइपद्वारा बाहिर पठाउने, नाली सफा राख्ने र वैकल्पिक मार्ग खोल्ने कामका लागि एक महिना अगाडि गरिएको अनुरोधलाई बेवास्ता गर्दा पासाङल्हामु मार्गमा क्षति भएको हो।
सडक मार्ग क्षति भएपछि चीनबाट आयात गरिएका सवारीसाधनहरू रसुवागढीमै रोकिएका छन्। रसुवा भन्सार कार्यालयका अनुसार, काठमाडौँका लागि चीनबाट आयात भएका १५० कन्टेनर सामग्री सडक अवरोधका कारण रसुवागढीमै अड्किएका छन्।
व्यवसायीहरूले अन्तर्राष्ट्रिय व्यापार व्यवसायका लागि महत्वपूर्ण यो मार्गलाई तुरुन्त मर्मत गरी सञ्चालनमा ल्याउन अनुरोध गरेका छन्। ठूलो पानी परे पूरै मार्ग क्षति हुनसक्ने भएकाले वैकल्पिक मार्गका रूपमा बोगटीटार–बनुवा, आम भञ्ज्याङ सिम्ले, तारूके हुँदै धारापानीको ग्रामीण सडक मर्मत गर्न सुझाव दिएका छन्।
रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजनल इञ्जिनियर सुबोध देवकोटाले पहिरो स्थलमा प्राविधिक अध्ययन सुरु भइसकेको जानकारी दिए। उनले एक/दुई दिनभित्र सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याउने र वैकल्पिक मार्गका रूपमा धारापानी, बेलचौर, सिम्ले ग्रामीण सडक मर्मत आजैदेखि सुरु गरिएको बताए।

