जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार, मनसुन हाल मुलुकको पूर्वी भू-भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ। सामान्यतया जुन १३ मा नेपालमा मनसुन प्रवेश गर्ने भए पनि यसवर्ष जुन १० मा पूर्व क्षेत्रबाट भित्रिन सुरु भएको थियो।
पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम तथा पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको छ। मानन्धरले भनिन्, “नेपालमा १० दिन भयो मनसुन सुरु भएको तर अझै पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न सकेको छैन।” आइतबारसम्म देशभर मनसुन फैलिसकेपछि तातो हावाको लहरको जोखिम विस्तारै हट्दै जानेछ।
उनका अनुसार अघिल्लो वर्ष नेपालमा मनसुन भित्रिएको तीन सातापछि मात्र देशभर फैलिएको थियो। हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
महाशाखाले आगामी शनिबारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

