कात्तिक २९, काठमाडौं – घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोलीले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुन सफल भएको छ।
आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै रनरेटमा पनि सुधार गरेको थियो। चार टोलीबीचको छनोटमा नेपाल र यूएईले समान ५-५ जित निकाल्दै १०-१० अंक जोडे। नेपालको रनरेट ३.९ रहँदा यूएईको ३.७ रह्यो।
दुवै टोलीले एक-एक खेलमा हार ब्यहोरेका थिए। यूएईले पहिलो चरणको लिगमा नेपाललाई पराजित गरेको थियो। बुधबार नेपालले दोस्रो चरणको लिगमा यूएईलाई पराजित गर्दै रनरेटमा अगाडि रहन सफल भएको हो।
निर्णायक खेलमा यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्यो। नेपालले चाँडै लक्ष्य पूरा गरेपछि रनरेटमा सुधार गर्न सफल भएको थियो।
नेपालका लागि ओपनर सना प्रवीनले अविजित ३५ रन जोडिन् भने सोनी पाख्रिनले पनि नटआउट १३ रनको योगदान दिइन्। अर्की ओपनर सावित्री धामीले १२ रन जोड्दा कप्तान पूजा महतोले २१ रन बनाइन्। पूजाले १८ बलमा ४ चौका प्रहार गरेकी थिइन्।
यसअघि अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सक्यो। यूएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडिन्।
बलिङतर्फ नेपालकी कृष्मा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिइन्। उनले १८औं ओभरमा तीन विकेट लिएर खेलको नियन्त्रण नेपालतर्फ ल्याएकी थिइन्। कृष्माले चार ओभरमा १७ रन मात्र खर्चिन। रिया शर्मा र सीमा केसीले दुई-दुई विकेट लिएर बलिङमा योगदान गरे।
चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपमा स्थान बनाउने प्रावधानमा नेपाल सफल भएको हो। कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालले थाइल्याण्ड, कुवेत, र घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गरेको थियो।
अब नेपालले मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश, र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यो सन् २०२३ देखि सुरु भएको यू-१९ विश्वकपको दोस्रो संस्करण हो, जसमा नेपाली महिला यू-१९ टोलीले पहिलो पटक सहभागिता जनाउने अवसर पाएको हो।

