नेपाल अन्लाइन पत्रिका – लन्डन। इंग्ल्यान्डले युरोकपको उपाधि जित्ने ऐतिहासिक मौका गुमाएको छ। आइतबार राति बर्लिनमा सम्पन्न युरोकप २०२४ को फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २-१ ले हराउँदै चौथो पटक युरोकप जितेको हो।
स्पेनको यो जीतसँगै उसले १९६४, २००८ र २०१२ पछि फेरि युरोकप उपाधि जित्न सफल भएको छ।
इंग्ल्यान्ड पहिलो पटक युरोकप जित्ने लक्ष्यमा थियो। यसअघि पनि इंग्ल्यान्ड २०२० को युरोकपमा फाइनलसम्म पुगेर इटालीसँग पराजित भएको थियो। १९६६ मा विश्वकप जितेको इंग्ल्यान्डले त्यसपछि कुनै प्रमुख अन्तरराष्ट्रिय उपाधि जित्न सकेको छैन।
फाइनल खेलको पहिलो हाफ बराबरीमै सकिए पनि दोस्रो हाफको शुरुवातमै स्पेनले गोल गर्दै अग्रता लियो। इंग्ल्यान्डका कोल पाल्मरले सब्सिच्युटको रूपमा मैदानमा प्रवेश गरेपछि ७३ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए। तर, ८६ औं मिनेटमा स्पेनले निर्णायक गोल गर्दै उपाधि हात पार्यो।
इंग्ल्यान्डका खेलाडीहरूलाई हौसला दिन प्रिन्स विलियम, प्रधानमन्त्री केयर स्टारमर लगायतका उच्च पदस्थ अधिकारीहरू बर्लिन पुगेका थिए।
यो जितसँगै स्पेनले चौथोपटक युरोकप जित्ने एक मात्र देशको रूपमा इतिहास रचेको छ भने इंग्ल्यान्डको युरोकप जित्ने सपना पुनः टुटेको छ।

