केही महिना अघि, अमेरिकामा १० वर्ष बिताएर नेपाल फर्केका एक व्यक्तिले आफ्नो अनुभव सुनाउँदै भनेका थिए, “अमेरिका भनेको पृथ्वीको स्वर्ग हो। त्यहाँ आजसम्म मलाई प्रहरीले कहिले पनि रोकेर चेक जाँच गरेको छैन। हामीले कानुनको उल्लंघन नगरे सम्म र कोही कसैले उजुरवाजुर नगरे सम्म प्रहरीले सोध्नेवाला छैन।”
तर, नेपालमा स्थिति फरक देखिन्छ। हालै भक्तपुरको गठ्ठाघरमा भएको एक दर्दनाक घटनाले यस यथार्थलाई पुनः उजागर गरिदिएको छ। जब एकजना स्कुटर सवार महिला प्रहरीको कागजपत्र जाँचको क्रममा थिइन्, तीब्र गतिमा आएको ट्रकले उनलाई ठक्कर दियो। यस दुखद घटनामा महिलाले आफ्नो अमूल्य जीवन गुमाउनुपर्यो।
घटनापछि, सल्लाघारीबाट सानोठिमीतिर रुट डाइभर्ट गरी, झण्डै दुई घण्टाको यात्रा गरेर बानेश्वर आइपुगेका व्यक्तिले आफ्नो अनुभव यसरी सुनाए: “हाम्रो देशको राजधानीमा मेरो बासस्थान र फार्म १७ किमी दुरीमा पर्छ। दिनको २-३ पटक प्रहरीले रोकेर कागजपत्र माग्ने, कहाँबाट आएको र कता जान लागेको सोध्ने, सवारी नम्बर भन्नुस् भन्ने, मापसे जाँच गर्ने, झोला छामछुम पार्ने जस्ता घटनाहरू दिनहुँको दिनचर्या बनेको छ।”
अधिकांश समय, ट्राफिक प्रहरीहरू लुकेर बस्ने, वाकिटकी र फोनको माध्यमबाट अगाडि रहेका ट्राफिकलाई ओभर स्पीडको जानकारी दिने गरेका छन्। “कहिले क्यामेरा लिएर बस्ने हुन्थे भने आजकल ड्युटीमा फोन चलाउन र वाकिटकी प्रयोग गर्न दिइएको छ,” उनले भने।
त्यसैगरी, अनलाईन प्रणालीले काम नगर्ने, रजस्व तिर्न बैंक जानु पर्ने तथा क्लास लिन जाँदा एक दिन व्यर्थमा जाने गरेको अनुभव पनि व्यक्त गरे। “ट्राफिक प्रहरी पैदल यात्रु, सवारी साधन र यात्रुको सुरक्षित यात्राको लागि भन्दा बेसी सवारी साधनलाई दण्डित गर्ने, दुख दिने र पैसा असुल्ने ध्येयले सडकमा बसेका जस्तो देखिन्छ,” उनले स्पष्ट रूपमा भने।
यस घटनाले नेपालमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा सुधारको खाँचो रहेको तथ्यलाई उजागर गरेको छ। गुणस्तरीय र फराकिलो सडक निर्माण नगरीकन, नागरिकमाथि मात्र कानुन लागू गर्नुले थप समस्याहरू निम्त्याएको देखिन्छ। जसले गर्दा, देशभरि धेरैले अकालमै आफ्नो ज्यान र धन गुमाउनु परेको छ। यी पीडाहरूलाई लुकाउँदै, नागरिकले भगवान भरोसामा हिंड्नुपर्ने बाध्यता अझै कायम छ।
यो घटनाले सडक सुरक्षामा सुधारको लागि गम्भीर पुनर्विचारको आवश्यकता रहेको देखाउँछ। सरकार र सम्बन्धित निकायले यस विषयमा ध्यान दिनु पर्ने बेला आएको छ।

