नेपाल अनलाइन पत्रिका। प्रेस काउन्सिल नेपालले हाल सामाजिक सञ्जाल, विशेषगरी युट्युब च्यानल र फेसबुक पेजहरूबाट प्रसारित सामग्रीहरूको गुणस्तर र विश्वसनीयता सुधार गर्न अपिल जारी गरेको छ। काउन्सिलले, सामाजिक सञ्जालमा सञ्चारसँग सम्बद्ध भएका र नभएका पेजहरूमा नाम, ठेगाना र अन्य आवश्यक विवरण स्पष्ट खुलाउन आग्रह गरेको छ। काउन्सिलका अनुसार यसले सूचना सम्प्रेषणमा पारदर्शिता र विश्वसनीयता थप्न मद्दत पुर्याउनेछ।
सामाजिक सञ्जालमा देखिएका केही आपत्तिजनक र गैरपेशागत सामग्रीहरूबारे अध्ययन गर्दै काउन्सिलले त्यसलाई सुसंगठित र मर्यादित बनाउन पहल गरिरहेको जनाएको छ। सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा, युट्युब, अनलाइन टिभी तथा सामाजिक सञ्जालका पेजहरूको व्यवस्थित प्रयोग सुनिश्चित गर्न काउन्सिलले विशेष कार्यविधि तयार गरी लागू गरेको उल्लेख छ। काउन्सिलले यस्ता सञ्जालहरूबाट आएको कुनै उजुरीको सम्बन्धमा वा स्वअनुगमनबाट प्राप्त जानकारीका आधारमा पत्रकार आचारसंहिताअनुसार कारबाही गर्दै आएको पनि बताएको छ।
काउन्सिलले यसका साथै अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील वा अशिष्ट सामग्री प्रसारण गर्ने, अन्धविश्वासलाई बढावा दिने प्रवृत्तिको पनि कडा अनुगमन गरिरहेको छ। यस्ता गतिविधिहरू फेला परेमा नेपाल प्रहरी (साइबर ब्युरो)लाई कारबाहीका लागि पत्राचार गर्ने गरिन्छ। पछिल्लो समय केहि युट्युब च्यानल तथा फेसबुक पेजहरूमा सञ्चार माध्यमको छवि बिगार्ने खालका सामग्री देखिन थालेपछि काउन्सिलको ध्यानाकर्षण भएको जनाएको छ।
“सञ्चार माध्यममाथि वितृष्णा फैलाउने, तथा सामाजिक सञ्जाललाई नै आधिकारिक माध्यम हो भन्ने खालका भ्रमपूर्ण भाष्य निर्माण गर्ने प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
काउन्सिलको अनुसार सामाजिक सञ्जालमा अमर्यादित, गालीगलौजयुक्त र झुटा सामग्रीहरू निरन्तर देखिन थालेका छन्, जसले आम सर्वसाधारणमा अन्योलता निम्त्याएको छ। काउन्सिलले यस्ता गलत प्रवृत्तिको अन्त्य गर्न सरकारी निकायहरूसँग सहकार्य गर्दै समाधानको पहल गरिरहेको पनि जनाएको छ।
सामाजिक सञ्जालहरूमा मिडियाको आडमा केही पेज र समूहहरूले अनावश्यक विज्ञापनको दबाब दिने, बार्गेनिङ गर्ने, र माग पूरा नभएमा सम्बन्धित संस्था, कम्पनी वा व्यक्तिहरूलाई झुटा र तथ्यहीन आरोप लगाउने गरेको गुनासाहरू प्राप्त भएको काउन्सिलले जनाएको छ। काउन्सिलले सबै सञ्चालक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई यस्ता अनैतिक कार्यहरू नगर्न र गराउन चेतावनी दिएको छ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतका अनुसार, “सामाजिक सञ्जालमा सत्य, तथ्य र सन्तुलित सामग्रीको प्रवाह भयो भने मात्र जनतामा विश्वास कायम हुन्छ। आधिकारिक सूचना सम्प्रेषणमा ध्यान दिन सके पत्रकारिता क्षेत्र अझ बलियो बन्नेछ।”
प्रेस काउन्सिलले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सञ्चार माध्यमसँग झैं कार्यालय ठेगानासहित स्पष्ट विवरण खुलाउन र कानुनी दायरामा रहेर गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ। यदि यसमा उल्लंघन भएमा सम्बन्धित निकायमा कानुनी प्रक्रिया अनुरूप कारबाही गर्न सकिने पनि काउन्सिलले जनाएको छ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रता सुरक्षित राख्न, संविधान र कानुनद्वारा स्थापित मर्यादा पालना गर्न आग्रह गर्दै काउन्सिलले सञ्चार माध्यमको मर्यादा र प्रतिष्ठा जोगाउन लागिपर्ने प्रतिवद्धता दोहोर्याएको छ। काउन्सिलले सामाजिक सञ्जालमा गतिविधि गर्ने सबैलाई आचारसंहिताको पालना गर्न, भ्रम फैलाउने, विज्ञापनको नाममा धम्की दिने र तथ्यहीन सामग्री प्रसारण नगर्न सचेत गराएको छ।

