काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय सरकारलाई थप अधिकार सम्पन्न बनाउँदै बलियो बनाउनु पर्ने आवश्यकता औंल्याएका छन्।
बुधबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘कान्तिपुर कन्क्लेभ–२०२४’ अन्तर्गत “प्रचण्डपथ : सडक कि सत्ता?” विषयक सत्रमा उनले प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार दिनुपर्नेमा जोड दिए। उनले प्रदेशलाई स्वायत्त र अधिकार सम्पन्न बनाए मात्र संघीयताको उद्देश्य पूरा हुने बताए।
दाहालले सत्तारुढ कांग्रेस र एमालेले प्रदेश र स्थानीय तहलाई आवश्यक अधिकार दिन नचाहेको आरोप पनि लगाए। उनका अनुसार, “माओवादी पनि विभाजित हुँदा क्रान्ति र परिवर्तनको लक्ष्य कमजोर बन्यो, जसले गर्दा प्रदेश र स्थानीय तहको अधिकारसम्पन्नता पनि घट्न गएको छ। यो अवस्थामा कतिपयले प्रदेश नै खारेज गर्नुपर्ने माग उठाइरहेका छन्, जुन गलत हो।”
उनले संविधान, संघीयता, र सामाजिक परिवर्तनको रक्षाका लागि माओवादीले सत्ताबाट मात्र नभई सडकबाट पनि संघर्ष जारी राख्ने बताएका छन्। उनका अनुसार, “हाल १२२ पालिकामा माओवादीको नेतृत्व छ र संसद्मा ३२ सिटको प्रतिनिधित्व छ। यसले माओवादीलाई सत्तामा जनतासँग प्रत्यक्ष जोड्न र जनताका लागि काम गर्न अवसर दिएको छ।”
दाहालले माओवादी पार्टी सत्ता बनाउने वा भत्काउने खेलमा लाग्ने उद्देश्य नराखेको र बरु जनताको पक्षमा काम गर्दै सरकारलाई सचेत गराउने भूमिकामा रहने बताए। “हामी सत्ता र सडक दुबैबाट परिवर्तनका मुद्दालाई अगाडि बढाइरहेका छौं। जनतासँग सधैं जोडिएर जनताका अधिकारको रक्षामा हामी प्रतिबद्ध छौं,” उनले भने।
उनले माओवादी पार्टीलाई एकताबद्ध गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको पनि बताए। दाहालका अनुसार, माओवादीको एकताबद्धता भएमा संघीयता, सामाजिक न्याय र विकासका मुद्दामा थप बलियोसँग लाग्न सकिने थियो।

