काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री र सचिवहरूलाई २६ बुँदे निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उनले विभिन्न विषयमा यी निर्देशनहरू दिएका हुन्। २६ बुँदे निर्देशनमा प्रधानमन्त्री ओलीले तत्कालिन र दीर्घकालिन कार्यहरू छुट्याएर गर्नुपर्ने बताएका छन्। उनले सरकारी सेवामा आउने झन्झट अन्त्य गर्न र योजनाबद्ध कामहरू दीर्घकालिन रूपमा अघि बढाउन निर्देशन दिएका छन्।
यस्ता छन् ओलीले दिएका निर्देशनहरू:
१. जनताको सेवा: सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिने ठाउँमा ज्येष्ठ नागरिकलाई लाइनमा बस्नुपर्ने स्थिति अन्त्य गर्नुपर्ने।
२. सरकारको स्थायित्व: ढुक्कसँग काम गर्नुपर्ने, किनभने यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ।
३. भत्तामा सुधार: राज्यका मन्त्रालय र निकायमा तलब पाउनेहरूले बैठकको भत्ता नलिनु। मुलुकमा आर्थिक अवस्था राम्रो छैन।
४. कामको प्राथमिकता: नयाँ काम थाल्नुभन्दा पहिले हाल थालिएका कामहरू सम्पन्न गर्न मुख्य ध्यान दिनु।
५. ऊर्जाको बचत: इन्धन आयातका लागि खर्चिने रकम बचाउन जलविद्युतको विकास र उपयोगमा ध्यान दिनु।
६. पानीको ब्राण्डिङ: इजरायल र मलेसियाले समुद्रको पानी प्रसोधन गरेर पिउने पानी बनाउँदा हामीले सगरमाथाको पानीलाई किन ब्राण्डिङ नगर्ने?
७. सेवामा सुधार: कुनै पनि कुरामा ढिलासुस्ती नहोस्, समन्वय बढाउनुस्, सेवा लिने नागरिकको काम विना झञ्झट गरिनुपर्छ।
८. समिति र संरचना: अनावश्यक समिति र संरचना नबनाउनु, कामको परिणाम देखिने गरी गर्नु।
९. जिम्मेवारी: देश र जनताका लागि समर्पित भएर काम गर्नु, जिम्मेवारी अर्कोलाई नपञ्छ्याउनु।
१०. कार्यसम्पादन: कार्यसम्पादन र अधिकार प्रत्यायोजन समयमा गरेर पूर्णरुपमा काम गर्ने पद्धतिमा जानु।
११. दिगो विकास: दिगो विकासका लक्ष्य पूरा गर्न गरिबीको अन्त्यको मुख्य निसाना बनाउनु।
१२. सम्पत्ति शुद्धिकरण: सम्पत्ति शुद्धिकरणका जटिलता व्यवस्थित गर्नुपर्छ।
१३. बजेट व्यवस्थापन: बजेटको अभावको वास्तविकता बुझेर नियमित बजेट खर्च गर्ने र पुँजीगत खर्च पर्याप्त हुने गरी गर्नुपर्छ।
१४. भुक्तानी: बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको भुक्तानी समयमा गर्नुपर्छ।
१५. निर्माण भुक्तानी: निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने स्थिति अन्त्य गर्नुपर्छ।
१६. आर्थिक अनुशासन: आर्थिक अनुशासनलाई पालना गर्नुपर्छ, अनुदानका रकमको व्यवस्थित वितरण गर्नुपर्छ।
१७. धरहरा: धरहरा पुनः निर्माणमा जनताको सहभागिता रहेकोले छिटो सञ्चालनमा ल्याउनुपर्छ।
१८. आलोचना नगर्नु: सरकारको कार्यकालको सय दिनसम्म मन्त्रीहरूले अरूको आलोचना नगरेर आफ्नो काममा ध्यान दिनु।
१९. प्राथमिकता: प्राथमिकताप्राप्त आयोजनाहरू वर्षौँसम्म नसकिने स्थिति हुन नदिने।
२०. सगरमाथा संवाद: सगरमाथा संवादको तयारीमा लाग्नुपर्छ।
२१. राष्ट्रिय प्रतिभा पुरस्कार: राष्ट्रिय प्रतिभा पुरस्कार नियमित गर्नुपर्छ।
२२. यातायात सुरक्षा: राजमार्गका सडकमा सुरक्षित निर्माण र लामो जरा भएका बिरुवाहरू लगाउनुपर्छ।
२३. जनता आवास: जनता आवास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्नुपर्छ।
२४. विषादि नियन्त्रण: तरकारीमा विषादिको प्रयोग नियन्त्रणबारे तीन महिनाभित्र निर्णय दिनु।
२५. निजी क्षेत्र: निजी क्षेत्रसँग समन्वय गरेर व्यवसायिक क्षेत्रका गुनासा सम्बोधन गर्नुपर्छ।
२६. समन्वय र कामको परिणाम: समन्वय र कामको परिणामलाई प्राथमिकता दिँदै काम गर्नुपर्छ।
प्रधानमन्त्री ओलीले यी निर्देशनहरू पालन गर्दै देश र जनताको सेवामा समर्पित भएर काम गर्न सबै मन्त्री र सचिवहरूलाई आग्रह गरेका छन्।

