नेपाल अनलाइन पत्रिका। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्ने गरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने कुरा बताउनुभएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले तल्लो र दूरदराजका जनतालाई लक्षित गर्दै योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले भन्नुभएको छ कि आफू पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति भएकोले, पठाएको रकम तल्लो वर्गसम्म नपुगेको हुनसक्छ, र योजनाहरूको प्रभावकारी अनुगमनमा केन्द्रले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।
मन्त्री खड्काले तत्कालीन अवस्थामा विद्युत्को विकास नभएको समयलाई स्मरण गर्दै, अहिले पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको बताउनुभयो। उहाँले तल्लो वर्गका जनतालाई निःशुल्क ऊर्जा वितरण गर्ने उपायहरूको अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ।
लक्षित वर्गका लागि खर्च गर्ने रकमको कमीले समस्या उत्पन्न भएको र तल्लो वर्गका मानिसहरू आर्थिक तथा सामाजिक हिसाबले सबल नभएसम्म देशको विकास असम्भव रहेको उहाँले बताउनुभयो।
मन्त्रालयका सचिव सरीता दवाडीले दिगो विकासको लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै, विद्युतको पहुँचभन्दा बाहिर रहेका जनतालाई ऊर्जा प्रदान गर्नका लागि नवीकरणीय ऊर्जाको व्यवस्थालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले विभिन्न निकायको समन्वयमा दूरदराजका जनतालाई नवीकरणीय ऊर्जा पुर्याउनका लागि काम गरिरहेको र खाना पकाउने स्वच्छ ऊर्जा कार्यक्रमअन्तर्गत स्थानीय तहसँगको लागत साझेदारीमा विद्युतीय चुलो, बायोग्यास, र सुधारिएको चुलोको प्रवर्द्धन तथा विस्तार गरिएको जानकारी दिनुभयो। साथै, साना र लघु जलविद्युतलाई मर्मतसम्भार गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल भइरहेको उहाँले बताउनुभयो।

