नेपाल अनलाइन पत्रिका। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उठाएका मुद्दाहरूमा सहकार्य गरे पनि कांग्रेस मौन नबस्ने स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले ओली सरकारलाई सफल बनाउन कांग्रेसले समर्थन गर्ने तर विगतमा उठाएका मुद्दाहरूलाई बेवास्ता नगर्ने बताएका छन्।
उनले भने, “ओली सरकारलाई सफल बनाउन हामी कांग्रेसले साथ दिन्छौं। हामी उभिएर विश्वासको मत दिएका छौं, तर तपाईँको बारेमा उठाएका सबै मुद्दा थन्क्याउँछौं भन्ने होइन। उहाँहरूको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्ने पनि होइन।”
नयाँ सरकार बनेर नेपाललाई नवीन सम्भावनातिर लैजान दुई ठूला दलहरू मिलेको शर्माले बताए।
उनले अगाडि भने, “दुई ठूला दल मिलेर सरकार बनाउँदा कतै प्रतिपक्षको स्वर कमजोर हुन्छ कि भन्ने चिन्ता छ। तर म यहाँ स्पष्ट गर्न चाहन्छु, माओवादीले खरो ढंगले प्रतिपक्षको भूमिका निभाउनेछ। रास्वपाले पनि यसमा भूमिका खेल्नुपर्छ।”

