नेपाल अनलाइन पत्रिका। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको वर्तमान परिस्थिति र आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो काममा केन्द्रित हुन निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले सचिवहरुलाई एक दिन पनि विश्राम नगरी काम गर्नुपर्ने स्थितिको महत्त्व उल्लेख गर्दै कार्यसम्पादनको महत्वबारे सम्झाए।
प्रधानमन्त्री ओलीले भने, “एक दिनमा एक पाइला भए पनि अघि सारौं, त्यसका लागि एक दिन पनि विश्राम नगरी काम गर्नुपर्नेछ। हामी छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौं।
त्यसलाई मध्यनजर गर्दै सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासन, राष्ट्रिय उत्पादन, उत्पादकत्व, विकास, सुशासन, सामाजिक न्याय र जनविश्वासमा सुधारका काम गर्नुहोस्।”
प्रधानमन्त्रीले सचिवहरुलाई सरकारको सफलतामा कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै बजेट अभावको बहाना बनाउने र विनियोजित बजेट पनि खर्च नगर्ने अवस्थालाई अन्त्य गर्न आग्रह गरे। उनले सचिवहरूलाई असल नियतका साथ निर्णय गर्न नडराउन र कर्मचारीलाई दुःख दिने नियतका साथ अनुगमनकारी निकायहरूले पनि गतिविधि नगर्न चेतावनी दिए।
प्रधानमन्त्री ओलीले थप भने, “अदालतले फैसला गरिहाल्छ भन्ने ढंगबाट भ्रष्टाचार मुद्दामा कमजोर र जथाभावी अभियोजन हुनुहुँदैन। दुःख दिने नियत कसैले कतै राख्न हुँदैन।”
प्रधानमन्त्रीले सचिवहरुलाई उच्च नैतिक चरित्रका साथ राम्रो कार्यसम्पादन गर्न र राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिए। उनका अनुसार सचिवहरूले निडरताका साथ निर्णय गरेर प्रशासनिक कामलाई द्रुत र प्रभावकारी बनाउन योगदान दिनुपर्छ।
प्रधानमन्त्रीले सचिवहरूलाई सशक्त रूपमा काम गर्ने प्रेरणा दिएर सरकारी कामकारवाहीलाई तीव्रता र प्रभावशीलता दिन चाहेका छन्, जसले समग्र विकास र सुशासनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

