नेपाल अनलाइन पत्रिका। बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो।
केन्द्रीय सुरक्षा समितिको बैठकको निर्देशनबमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर जारी गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हाल तैनाथ गरिएका सुरक्षाकर्मीसँगै थप बल परिचालन गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिए।
यसले नेपालमा सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ। सुरक्षा निकायहरूले सीमाक्षेत्रमा निगरानी बढाएर अवैध गतिविधिहरूको रोकथाममा सक्रिय भूमिका खेलिरहेका छन्।

