नेपाल अनलाइन पत्रिका। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेपछि उत्साहका साथ मन्त्रालयको जिम्मेवारी सम्हालेको बताएका छन्।
कर्मचारीहरूसँगको छलफलमा उनले भने, “जुन उत्साह लिएर मन्त्रालय आएको छु, त्यही उत्साहसहित बिदा हुने चाहना छ। देशमा सबै तिर निराशा छ, केही गरेको म्यासेज छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु।”
मन्त्री पौडेलले मन्त्रालयमा विधि र पद्धति सिकाउने उद्देश्य लिएर आएको बताए। उनले भने, “राजनीति लिगेसी यहाँ देखिँदैन, स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु।
मन्त्रालय सुधार्न के गर्न सकिन्छ आफ्नो बुद्धि विवेक, अनुभव र क्षमताका आधारमा भन्नुहोला।” पौडेलले ठूला कुरा गर्न गाह्रो भए पनि सानासाना काम गरेर सुधार ल्याउन सकिने जिकिर गरे।
उनले सबै कर्मचारीलाई साझ उद्देश्य पूरा गर्न जिम्मेवारी सम्झेर लाग्न निर्देशन दिए। मन्त्री पौडेलले भने, “नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव गर्ने गरी कसरी बनाउन सकिन्छ, त्यतातर्फ लाग्छु। सबैको क्षमताले भ्याउने गरी काम गर्नुपर्छ। म निर्देशन दिने तिर होइन, मिलेर काम गर्ने तिर लाग्छु।”
स्वास्थ्य सचिव रोशन पोखरेलले मन्त्री पौडेलको निर्णय गर्ने स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगति गर्नेमा आफू ढुक्क रहेको बताए। उनले भने, “आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभूति मन्त्रालयले चाहेको छ। टिमवर्कबाट अघि बढ्न तयार छौँ।”

