नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा गम्भीर असर पर्ने अभिव्यक्ती दिएका छन् । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालतर्फ संकेत गर्दै आफू सरकारमा छँदा अप्ठेरोमा पार्नेहरुले नै अहिले देउवालाई काम गर्न नदिएको बताएका हुन् ।

पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । उहाँलाई अतिथि बनाएर सरकारका विषयमा टिप्पणी गर्नु वाञ्छनीय हुँदैन ।

तर, प्रधानमन्त्रीजीलाई पनि गाह्रो छ कि मलाई अप्ठेरो पार्ने र खुट्टा तान्नेहरू आज उहाँको खुट्टा सामातिराख्या छन् ।’ ओलीले आगामी चुनावबाट एमालेको सरकार बन्ने सँगै मञ्चमा रहेका देउवालाई सुनाए ।

‘प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो,’ ओलीले भने, ‘त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ ।’

उदघाटन सत्रलाई सम्बोधनकै क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् ।

‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ओलीले नेपालको संविधानको अंग बनेको लुम्पियाधुरासहितको नेपाली भूमी भारतसँगको संवादबाट ल्याइछाड्ने उद्घोष पनि गरे ।