काठमाडौँ–नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ। राष्ट्र बैंकले शुक्रबार बिहान मौद्रिक नीतिको समीक्षा गर्दै नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखेको र वैधानिक तरलता अनुपात ८,९ र १० प्रतिशत यथावत रहदा तरलताको स्थितिमा कुनै असर नपर्ने देखिएको छ।
यस्तै डकुमेन्ट एगेन्स्ट पेमेन्ट र डकुमेन्ट एगेन्स्ट एसेप्टेन्सको विद्यमान सीमा पनि पुनरावलोकन गरिने समीक्षामा उल्लेख छ।
ड्राफ्ट टिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था पनि गरिने भएको छ।
यसैगरी उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, व्यावसायिक कृषि र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था पनि मिलाइने भएको छ।
मौद्रिक नीतिअनुसार विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ।
गैर आवासीय नेपालीहरु तथा गैर आवसीय नेपालीहरु संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सहजीकरण गर्ने व्यवस्था पनि मौद्रिक नीतिमा गरिएको छ।
विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गर्ने पनि व्यवस्था छ।