बुटवल – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेशका ५० भन्दा बढी नेता पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी देखिएका छन्।

एमालेले आफ्नो प्रभाव क्षेत्र मान्ने लुम्बिनी प्रदेशबाट केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म आकांक्षा व्यक्त गरेका छन्।

केन्द्रीय सदस्यका आकांक्षीले उम्मेदवारी दिने घोषणा गरे पनि पदाधिकारीले भने उम्मेदवारी घोषणा गरेका छैनन्।

१५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशकै ८ जना नेताको दाबी देखिन्छ। यस्तै, २ सय २५ सदस्य रहने केन्द्रीय कमिटीमा करिब ४० जनाको आकांक्षा देखिएको छ।

नेकपा विघटन हुनुअघि महासचिव रहेका पार्टी उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल, एमाले उपाध्यक्ष युवराज ज्ञवाली, सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टसहितका नेता पदाधिकारीका दाबेदार हुन्।

पौडेलले महासचिवको उम्मेदवारी घोषणा नगरे पनि उनीनिकट कार्यकर्ताले महासचिवका रूपमा प्रचार गरिरहेका छन्। पार्टी अध्यक्ष केपी ओलीका प्रिय पात्र मानिने पौडेललाई महासचिवका रूपमा उनीनिकटहरूले सामाजिक सञ्जालमा समेत प्रचार गरिरहेका छन्।

पौडेलसँगै महासचिवमा पोखरेलको पनि चर्चा छ। पोखरेललाई महासचिव बनाउन दाङका नेता–कार्यकर्ताले प्रचार गरिरहेका छन्। ओलीका अर्का प्रियपात्र रहेका पोखरेलले भने विष्णु पौडेल र आफूले एउटै पदमा उम्मेदवारी नदिने बताएका छन्।

पार्टी अध्यक्ष ओलीको कार्यशैलीसँग तीव्र असहमति राख्दै आएका रुपन्देहीका घनश्याम भुसाल पनि पदाधिकारीका दाबेदार हुन्। उनले अध्यक्षकै दाबी गर्नेबारे चर्चा गरे पनि महाधिवेशनको उद्घाटन सत्रसम्म कुनै घोषणा गरेका छैनन्।

ओलीको कार्यशैलीका अर्का आलोचक भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि भुसालले कुन पदमा उम्मेदवारी दिने कुरा खोलेका छैनन्।

सहमतिमै उपाध्यक्ष वा अरू कुनै पदमा रहनका लागि भुसालले प्रयत्न गरिरहेको उनीनिकट नेताहरू बताउँछन्।

माधव नेपालको समूहमा लामो समयसम्म रहेर अन्तिम समयमा ओलीकै पक्षमा उभिएका दाङका युवराज ज्ञवाली अहिले उपाध्यक्ष छन्। उनी उपाध्यक्षमै रहने या अरु कुनै पदमा जाने भन्ने कुरा व्यक्त गरेका छैनन्।

विश्वासपात्रका रूपमा ओलीले अघि सार्दै आएका अर्का नेता प्रदीप ज्ञवालीको पनि कुन पदमा उम्मेदवारी हुन्छ भन्ने चर्चा नभए पनि उनी पदाधिकारीका दाबेदार हुन्। गुल्मीका ज्ञवाली उपमहासचिव या सचिवमा रहने चर्चा छ।

गुल्मीकै गोकर्ण विष्ट पनि आफू निकटहरूसँग उपमहासचिवको दाबी गरिरहेका छन्। सहमतिमा भएमा उनी पुरानै पद सचिवमा रहन तयार रहेको उनीनिकटहरूको भनाइ छ।

माओवादीबाट एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी पनि पदाधिकारीका दाबेदार हुन्। उनले कुन पदमा उम्मेदवारी दिने भन्ने खुलाएका छैनन्।

पूर्वमन्त्री रुपन्देहीकी राधा ज्ञवाली र छविलाल विश्वकर्माले पनि महिला र दलित कोटामा पदाधिकारीमा दाबी गरेका छन्। ज्ञवालीले सचिवमा दाबी गरेकी छन् भने विश्वकर्माले पद नखुलाए पनि पदाधिकारीमा आकांक्षा व्यक्त गरेका छन्।

केन्द्रीय सदस्यमा पनि उस्तै आकांक्षी

लुम्बिनी प्रदेशका सबैजसो प्रदेश सांसद र अधिकांश स्थानीय तहका जनप्रतिनिधि केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन्।

२०८ जना महाधिवेशन प्रतिनिधि चुनिएको लुम्बिनीबाट केन्द्रीय सदस्यमा आकांक्षा व्यक्त गर्ने अधिकांश राष्ट्रिय सभा सदस्य, प्रदेश सांसददेखि नगरका प्रमुख उपप्रमुखसम्म छन्।

यसअघि केन्द्रीय सदस्य रहेकाहरू फेरि पनि सोही पदमा दोहोरिने चाहनासाथ प्रचार–प्रसार र शीर्ष नेताहरूसँग परामर्शमा लागेका छन्।

प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, तुल्सीप्रसाद चौधरी, बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, तिलोत्तमाका प्रमुख वासुदेव घिमिरे, बुटवलकै उपप्रमुख गुमादेवी आचार्य, सावित्रा अर्याल, कमल गौतम, नेत्र पन्थी, कमला विश्वकर्मालगायत नेता दशौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रचारमा जुटेका हुन्।

हाल केन्द्रीय कमिटीमा रहेका प्रदेश अध्यक्षसमेत रहेका लीला गिरी, माओवादीबाट एमाले प्रवेश गरेका दधिराम न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्मा र राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले पनि दोहोरिने इच्छा व्यक्त गरेका छन्।

कपिलवस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थी, बलराम अधिकारी, विश्रामप्रसाद थारू, शान्तिदेवी चमार, रुपन्देहीका बलबहादुर आचार्य, दाङका जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सांसद सरस्वती गौतम र रेवतीरमण शर्मा घिमिरे, तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगर प्रमुख नरूलाल चौधरी, लमही नगरपालिकाका मेयर कुलबहादुर खत्री, गंगा चौधरी केन्द्रीय सदस्यका आकांक्षी हुन्।

बाँकेका प्रदेश सांसद कविराम थारू, रुकुम पूर्वकी प्रदेश सांसद आशा स्वर्णकार, प्युठानका प्रदेश सांसद हरि रिजाललगायत केन्द्रीय सदस्यका आकांक्षी हुन्।

पश्चिम नवलपरासीबाट जिल्ला अध्यक्ष तुलसी पासी, केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनाल, अनेमसंघ केन्द्रीय सचिवालय सदस्य विमला अर्याललगायत नेता केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन्।

नेताहरूले आकांक्षा व्यक्त गरे पनि शीर्ष नेताले निर्वाचन कार्यक्रम कसरी अघि बढ्छ भन्ने संकेत नगरेकाले उनीहरू अलमलमा रहेको बताएका छन्।

उम्मेदवार बन्ने तयारीमा रहेका एक नेताले भने’ ‘अध्यक्षदेखि अरु पदमा सहमति हुने गरी अघि बढ्ने हो कि चुनावमा जाने हो भन्ने अलमल छ, ल सहमति भयो भनेर एकैपटक घोषणा हुने हो कि चुनावी कार्यक्रम अघि बढ्ने हो अलमल भयो।’