धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। नेपाली कांग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रबारदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको जानकारी दिएको छ।

पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए।

प्रदेश अधिवेशनमा सहभागी हुन नौ वटै जिल्लाबाट प्रतिनिधि आउनेछन्,’ शाहले भने, ‘उनीहरूको व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी कैलाली कांग्रेसलाई दिइएको छ। प्रदेश अधिवेशनको व्यवस्थापनकै लागि जिल्ला अधिवेशन केही समयका लागि स्थगन गरिएको हो।’ उनले सम्भवतः अब जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने बताए ।