१० मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ, तर नेतृत्व चयन सहमतिमा कि चुनाव मार्फत भन्ने अलमल कायमै छ । नेताहरूले सहमतिका लागि छलफल पनि जारी राखेका छन् । उनीहरूमध्ये एक सचिव गोकर्ण विष्ट पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई निर्विरोध बनाउनुपर्ने बताउँछन् ।

अरू पदाधिकारीमा पनि सहमति गर्नुपर्ने भन्दै उनी भन्छन्, ‘मुख्य नेतृत्व र पदाधिकारीमा सहमति हुनसक्यो भने देशभरि सहमतिका आधारमा महाधिवेशन सम्पन्न भयो भन्ने सन्देश जान्छ । त्यसले नयाँ ऊर्जा पैदा गर्दै सबै पंक्ति एकमना एकताका साथ परिचालन हुन सम्भव हुन्छ ।’ प्रस्तुत छ, एमाले सचिव गोकर्ण विष्टसँग सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

एमाले अध्यक्ष केपी ओलीले मेरो कोही पनि उम्मेदवार छैनन्, जो सर्वसम्मत वा चुनाव जितेर आउँछ, त्यही मेरो उम्मेदवार हो भन्नुभएको छ । सहमतिको कुरा गर्दागर्दै पनि चुनावतिर गएको हो ?

यतिबेला एमालेमाथि चारैतिरबाट हमला केन्द्रित छ । यसले चुनौती पैदा भइरहेको छ । त्यसलाई सामना गर्न विचार, भावना र संगठनात्मक हिसाबले सबल पार्टी आवश्यक छ । त्यसैले यसपटक पार्टीको मुख्य नेतृत्व सहित महत्वपूर्ण जिम्मेवारीहरूमा सहमति र समझदारी कायम गर्नुपर्छ । पार्टीभित्र विभिन्न आकांक्षाहरू प्रकट भए पनि यो महाधिवेशनलाई एकता र सहमतिमा परिणत गर्नुपर्छ । त्यसको लागि हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ ।

तपाईंको शुभेच्छाले मात्रै होला र ? उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमै उठ्ने घोषणा गरिसक्नुभयो । रावलको उम्मेदवारी देखाउनलाई मात्रै होला र ?
उहाँको उम्मेदवारीको कारण व्यक्तिगत हिसाबले मैले त्यति बुझ्न पाएको छैन । तर, आजको आवश्यकता सहमति हो । एमालेभित्र अहिले पनि अन्तरविरोध, द्वन्द्व कायम छ भन्ने सन्देश बाहिर जान हुँदैन । केही महीना पछाडि स्थानीय तहदेखि विभिन्न निर्वाचनहरू आइरहेका छन् ।

हामीलाई कमजोर पार्न देशभित्र र बाहिरका एमाले विरुद्ध गठबन्धन तयार गर्दै प्रहार गर्न प्रयत्नशील छन् । चारैतर्फको हमलासँग जुध्दै आगामी निर्वाचनबाट एमालेलाई पहिलो पार्टीको रूपमा स्थापित गर्नु छ । आर्थिक, सामाजिक रूपान्तरणको उद्घोषलाई व्यावहारिक रूपान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ । यसको लागि प्राथमिक शर्त सबल र एकतावद्ध पार्टी हो ।

स–साना कुरामा अल्झिएर अन्तरविरोध कायम राख्ने र पार्टीमा समस्याहरू पैदा गर्ने दिशातर्फ कोही पनि लाग्न हुँदैन । आम एमाले पंक्तिको चाहना सहमति र एकता मार्फत सबल पार्टी निर्माण हो । यो भावनालाई हामीले बुझ्नुपर्छ र सम्बोधन गर्नुपर्छ ।

यो सुन्दा त एकदमै राम्रो पक्ष हो, तर पद निश्चित छ, आकांक्षा राख्ने नेताहरूको लहर छ । यो कसरी मिल्छ ?
विगतका महाधिवेशनहरूमा हामीले प्यानल बनाएर पनि चुनाव लड्यौं । त्यसको कहीं न कहीं मनोविज्ञान कायमै रह्यो । यसले पार्टीभित्र जिम्मेवारी र कार्यसम्पादनसँगै नेता–कार्यकर्ताको भावनात्मक एकतामा प्रतिकूल प्रभाव पार्‍यो । यसबाट पाठ सिक्दै यो महाधिवेशनलाई गुट र प्यानलरहित स्वस्थ महाधिवेशन बनाउनुपर्छ ।

विभिन्न चाहना र आकांक्षाहरूको बीचमा पनि सहमतिका आधारमा जिम्मेवारीलाई व्यवस्थापन गर्न सम्भव छ । त्यसका लागि गम्भीर पहल र मिहिनेत गर्नुपर्छ । आजका चुनौतीलाई गम्भीरतासाथ बोध गर्‍यौं भने मात्रै सहमतिको सम्भावना सहज हुन्छ ।

शुभेच्छाले मात्रै हुन्थ्यो भने त न नेकपा विभाजन हुन्थ्यो न एमाले । पवित्र चाहनाले मात्रै होला र ?
विगतमा हामीले गरेका गल्तीलाई जारी राख्ने वा पुनः दोहोर्‍याउने गर्नुहुँदैन । पार्टीलाई एउटा प्रणाली र संस्थागत ढङ्गले विचार, व्यवहार, मनोविज्ञान र संगठनात्मक हिसाबले एकताबद्ध बनाउनैपर्छ । विगतका तीतो अनुभवबाट पाठ सिक्दै पार्टीमा अनावश्यक विवाद र अस्वस्थता न्यूनीकरण गर्नुपर्छ ।

एकले अर्कोको आवश्यकता महसूस गर्नुपर्छ । आजका चुनौतीलाई मिलेर सामना गर्न सामूहिक भावनाको विकास गर्दै साझा उद्देश्यका लागि अगाडि बढ्नुपर्छ । यसरी गम्भीर नहुने हो भने चुनौतीको सामना गर्न सकिंदैन ।

पार्टीका अत्यन्त अनुभवी, जिम्मेवार र भविष्यप्रति गम्भीर नेताहरूको पंक्ति महाधिवेशन प्रतिनिधिको रूपमा आउनुभएको छ । उहाँहरूले पार्टीको नेतृत्व तहमा एकता र सहमतिको लागि दिनुभएको दबावको अर्थ छ । यसलाई कदर र सम्मान गर्दै हामी सबैले गम्भीर हुँदै भूमिका निर्वाह गर्नुपर्छ ।

पहिलो पुस्ताको लडाईंले पार्टी विभाजन भयो । सरकारबाट प्रतिपक्षमा पुग्नुभयो । अब दोस्रो पुस्ता पनि एकप्रकारको लडाईंको सम्मुख छ । घटनाक्रम कसरी अगाडि बढ्ला ?
हामीले पार्टीभित्रको प्रतिस्पर्धा वा लोकतन्त्रलाई केवल चुनावसँग मात्रै जोडेर बुझ्ने गल्ती गर्छौं । हामीले बुझ्नै पर्छ– पार्टीभित्रको आन्तरिक जनवाद अथवा लोकतन्त्र प्रतिस्पर्धा बाहेक पनि सहमति एउटा लोकतन्त्रको उच्चतम अनुपम उदाहरण हो । यसकारण पहिलो होस् वा दोस्रो पुस्ताको नेतृत्व तहबाट सहमति, समझदारी र एकताको सन्देशकै लागि भूमिका निर्वाह हुनेछ भन्नेमा आशावादी छु ।

पार्टी पंक्तिको यो मनोविज्ञानलाई सम्मान र कदर गर्नुपर्दछ । भविष्यको एमाले एकताबद्ध हुँदै हरेक चुनौतीको सामना गर्दै अनेकन् प्रतिकूलताहरू परास्त गरेर आउँदो निर्वाचनमा पहिलो र बहुमत प्राप्त पार्टीको रूपमा अगाडि बढ्ने गरी यो महाधिवेशनले परिणाम ल्याउनुपर्छ । सबै पक्षलाई समेट्नुपर्छ ।

अलि अन्तरविरोधी कुरा गर्दैछु जस्तो लाग्दैन ? महाधिवेशनमा जनवाद प्रयोग गर्न नपाउने सार्वभौम प्रतिनिधिले कहिले नेतृत्वबारे निर्णय गर्न पाउँछन् ?
अहिले छनोट हुनुभएका प्रतिनिधिहरूले निर्वाचनको कुरामा जोड दिइरहनुभएको छैन । तपाईंहरूले सहजै अनुमान गर्न सक्नुहुन्छ ८ लाखभन्दा बढी पार्टी सदस्यहरूबाट वडा कमिटी, पालिका कमिटीहरूमा केही अपवाद बाहेक सर्वसहमतिका आधारमा निर्वाचित भएका छन्, कमिटीहरू गठन भएका छन् । महाधिवेशन प्रतिनिधि पनि केही अपवाद बाहेक लगभग ९८÷९९ प्रतिशत सहमतिले नै चयन भएका छन् ।

सहमतिका आधारमा प्रतिनिधि चयन गर्न पार्टी सदस्यहरूले त्याग र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । यसको सन्देश महाधिवेशनमा पनि सहमति गर्दै पार्टीलाई एकताबद्ध गराऊ भन्ने हो । कहीं पनि फरक मनोविज्ञान पैदा नहोस् भन्नेतर्फ नै सदस्यहरूले संकेत गर्नुभएको छ । यसलाई पनि हामीले गम्भीरता साथ लिनुपर्छ ।

८ लाख संगठित सदस्यबाट छानिने प्रतिनिधिमा सहमति हुन्छ भने २२-२३ सय महाधिवेशन प्रतिनिधिबाट सम्पन्न हुने १०औं महाधिवेशनमा सहमति हुँदैन भनेर हामीले आशंका गर्ने ठाउँ छैन । सहमतिको पर्याप्त सम्भावना छ, यसलाई हामीले महत्व दिनुपर्छ ।

तर प्रत्यक्ष-अप्रत्यक्ष रूपमा उम्मेदवारी दिने लहर शुरु भएको छ । त्यो अधिकार उहाँहरूले प्रयोग गर्न पाउनुपर्ने होला नि पार्टीमा ?
नेकपा एमालेले केही समय अगाडि विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान सहमतिको आधारमा पारित गरेको छ । हामीले सबै दस्तावेजहरू सहमतिका आधारमा पारित गरेका छौं । यो नेतृत्व चयनको महाधिवेशन हो ।

महाधिवेशन भनेको आगामी दिनमा पार्टीलाई कुशलतासाथ नेतृत्व गर्ने कुशल र सबल नेतृत्व निर्माण गर्ने महत्वपूर्ण पर्व हो । त्यसमा पनि विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको योगदान, सम्भावना, आवश्यकता, मनोविज्ञानलाई समेत समेट्नुपर्छ ।

एमालेको रिङ बाहिर रहेका विभिन्न पार्टीका नेता कार्यकर्ताहरू पनि पार्टीमा आकर्षित हुने गरी यो महाधिवेशनलाई स्वस्थ र समझदारीपूर्वक सम्पन्न गर्छौं । यसो गर्दा नै यो पार्टीको भविष्य उज्ज्वल हुन्छ । यसतर्फ पार्टी पंक्ति गम्भीर बन्नैपर्छ ।

तपाईंको भनाइ अनुसार अध्यक्षदेखि लिएर पदाधिकारी मात्रै सहमतिमा बन्छ कि सिंगो टिम नै सहमतिमा हुन्छ ?
एमाले एउटा विशाल पार्टी हो । लाखौं कार्यकर्ताको पार्टीमा सयौं हजारौं व्यक्ति केन्द्रीय नेतृत्वमा आउन योग्य हुनुहुन्छ । धेरै योग्यतम व्यक्तिहरू भएको पार्टीमा आकांक्षा आउनु, प्रतिस्पर्धाको चाहना आउनुलाई अस्वाभाविक ठान्न पनि हुँदैन । यस्तो अवस्थामा कहीं न कहीं हामीले एउटा विधि अपनाउनुपर्ने हुन्छ ।

यद्यपि पार्टीको मुख्य नेतृत्व र पदाधिकारीमा सहमति हुन सक्यो भने देशभरि सहमतिका आधारमा महाधिवेशन सम्पन्न भयो भन्ने सन्देश जान्छ । त्यसले नयाँ ऊर्जा पैदा गर्दै सबै पंक्ति एकमना एकताका साथ परिचालन हुन सम्भव हुन्छ । यो नै कम्युनिष्ट आन्दोलन, एमाले र नेपाली जनताको भविष्य हो ।

कतिपयले अध्यक्षलाई निर्विरोध निर्वाचित गरौं, बाँकी पदाधिकारीहरूमा चुनाव गरौं भन्नभएको छ नि ?
मुख्य नेतृत्व अर्थात् पार्टी अध्यक्ष त निर्विरोध गर्नैपर्छ । बाँकी पदाधिकारीमा पनि निर्विरोध र सहमतिका आधारमा सम्पन्न गर्न सक्यौं भने त्यसले पैदा गर्ने ऊर्जा र सन्देश अवश्य पनि आज हामीले सोचेभन्दा धेरै महत्वपूर्ण हुनेछ ।

तर १० बुँदे सहमतिसँगै एमालेमै रहनुभएका केही नेता मौन हुनुहुन्छ, केहीले उम्मेदवारी घोषणा गर्नुभयो । तपाईंहरू अलि छिन्नभिन्न हुनुभएको हो अहिले ?
हामीले पार्टीलाई एकताबद्ध गर्नको लागि खेलेको भूमिका महत्वपूर्ण नै थियो । हामीले पार्टीलाई विभाजन गर्न चाहने शक्तिको चाहना र सपनालाई परास्त गर्दै त्यसलाई चकनाचूर पार्‍यौं । यसको मूल्यांकन समयले गर्ला, पार्टी पंक्तिले गर्ला ।

अब विगत कोट्याउने भन्दा आगामी दिनमा एमालेलाई कसरी बलियो बनाउँदै अगाडि बढाउने ? देश र जनताको हितमा सिंगो पार्टी पंक्तिलाई कसरी परिचालित गर्ने ? भन्नेमा ध्यान दिन जरूरी छ । अब गुट र प्यानलरहित पार्टी निर्माण गर्दै इस्यूका आधारमा बहस र छलफल गर्ने प्रणालीलाई संस्थागत गर्नुपर्छ । पार्टीलाई संस्थागत प्रणाली अनुसार चल्ने बनाउनुपर्छ । त्यो नै कम्युनिष्ट आन्दोलन र एमालेको भविष्य हो ।

यसोभन्दा कता कता हिजोको पृष्ठभूमिको कारणले महाधिवेशनमा १० बुँदेबाट आउनेहरूमा चुनाव भए पराजय हुने भयले सहमति भन्यो भन्ने आरोप लाग्ला नि !
त्यो आरोपमा कुनै सत्यता छैन । महत्वपूर्ण कुरा, अब को कति बुँदेका आधारमा पार्टीमा रहे भन्नेभन्दा आजको आवश्यकतामा आधारित रहेर पार्टीलाई खँदिलो, बलियो र संस्थागत बनाउने गरी पार्टी पंक्तिले नेतृत्वको मूल्यांकन गर्छ कि गर्दैन भन्ने हो ।

म दोहोर्‍याएर भन्न चाहन्छु, अब हामीले विगतका कैयौं घटनाहरूको, व्यक्तिका कमिकमजोरी बारे उपयुक्त समय र सन्दर्भमा समीक्षा गरौंला । तर, अब हामी पछाडि फर्किनेभन्दा पनि विगतबाट पाठ सिक्दै आगामी दिनमा पार्टी र आन्दोलन कमजोर हुन नदिने गरी अगाडि बढ्नुपर्छ । नयाँ उचाइबाट आन्दोलनलाई हाँक्ने सन्दर्भमै हामी केन्द्रित हुनुपर्छ ।

एकतिर चुनौती पनि छ अर्कोतिर देश र जनताप्रतिका धेरै अभिभारा र जिम्मेवारीहरू छन् । त्यसलाई सम्पादन गर्न योग्य र सक्षम पार्टी निर्माण गर्न हामी पुनः सामूहिक भावनाका साथ अगाडि बढ्न जरुरी छ । एमालेलाई एकप्रकारले अन्तरविरोध, द्वन्द्वरहित पार्टी निर्माण गर्न हामीले अधिकतम् कोशिश गर्न जरुरी छ । हरेक व्यक्तिका आफ्ना सोचाइ, कार्यशैली र विश्लेषण रहनसक्छन् ।

एउटा जीवन्त पार्टीमा सतहमा अन्तरविरोध देखिन सक्छ । तर त्यसलाई बढावा दिनेभन्दा उच्च नैतिकतासाथ व्यवस्थापन गर्दै समाधान उन्मुख हुनुपर्छ । हामी हरेक समस्यालाई विधिपूर्वक सही ढंगले समाधान गर्छौं । आउँदा दिनमा अझ कुशलताकासाथ अगाडि बढ्छौं । यी पक्षहरूलाई सावधानीका साथ सोच्दै व्यवहारमा परिणाम दिन जरुरी छ ।

सहमति र चुनाव दुवै कुरा छ । यो महाधिवेशनमा तपाईंहरूको पक्ष जित्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
यो पक्षको प्रश्नभन्दा पनि सिंगो पार्टी पंक्तिले एकताको सन्देश दिने मनोविज्ञानका साथ आइरहनुभएको छ, एकताको वातावरण निर्माणका लागि पार्टी सदस्यहरूले निर्विरोध निर्वाचित गरेर पठाउनुभएको छ । यो आजको आवश्यकताले नै घचघच्याइरहेको छ ।

यो केवल मेरो वा कुनै व्यक्तिको वा कुनै पक्षधरताको बाध्यताको विषय होइन । यो आजको आवश्यकता भएकोले चितवन महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनको समग्र इतिहासमा नयाँ प्रकारको अनुपम उदाहरण र नयाँ सन्देश दिन जरूरी छ ।

विगतका ९ वटा महाधिवेशन भन्दा यसलाई फरक ढङ्गले हामीले सम्पन्न गर्नु आवश्यक छ । प्रतिनिधि कमरेडहरूले जस्तै त्यसतर्फ पार्टीको जिम्मेवार तहमा रहेका सबै नेता कमरेडहरूले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

अन्त्यमा, पार्टी विभाजनको ट्रयाजेडीमा नारायणी नदी किनारमा हुनुहुन्छ । फर्किंदा कोर्स करेक्सन हुने सम्भावना र केही आधारहरू देख्नुहुन्छ ?
कारण जे भए पनि हामी प्रतिपक्षमा पुगेका छौं । यो दुःखद कुरा हो । यसले देशभरिका कार्यकर्ताको मन दुखेको छ । नेपाली जनताले जुन आस्था र विश्वासका आधारमा जनादेश दिनुभएको थियो, उहाँहरूमा पनि थोरै निराशा देखापरेको छ ।

महाधिवेशनबाट फर्कंदा एमाले एक्लैले बहुमत प्राप्त गर्ने हैसियतका साथ महाधिवेशन सम्पन्न गर्न जरूरी छ । आउँदो निर्वाचनमा एमाले बहुमतका साथ पहिलो पार्टी हुन्छ नेपाली जनताको आर्थिक, सामाजिक रूपान्तरणको कामलाई सम्पादन गर्दै समृद्ध नेपाल निर्माण गर्ने गरी अगाडि बढ्छ भन्ने उत्साह, सन्देश र ऊर्जा पैदा गर्ने गरी महाधिवेशनलाई सम्पन्न गर्नुपर्दछ ।

सबैमा त्यही प्रकारको गम्भीरता देखा पर्न र सबैले त्यसरी नै भूमिका निर्वाह गर्न जरूरी छ । अवश्य पनि यही सन्देश सुन्ने प्रतीक्षामा देशभरिको पार्टी पंक्ति र आम नेपाली हुनुहुन्छ । यसलाई व्यवहारमै परिणत गर्छौं, गर्नुपर्छ । यसतर्फ हामीले इमानदारपूर्ण प्रयत्न गर्छौं ।