चितवन- राप्रपाका अध्यक्ष कमल थापाले मधेशमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्वक राजनीतिको मूलधारमा ल्याउनुमा नेकपा एमाले र केपी शर्मा ओलीको महत्वपूर्ण योगदान भएको बताएका छन्।

नेकपा एमालेको दशौं महाधिवेशनको उद्घघाटन समारोहमा शुक्रबार शुभकामना मन्तव्य दिँदै थापाले ओलीकै नेतृत्वमा लिम्पियाधुरा समेत समेटेर नेपालले चुच्चे नक्सालाई संविधानको अंग बनाएको भन्दै नेपाली जनतालाई ओलीले अविस्मरणीय गुन लगााएको बताए।

ओली जस्तो एउटा जीर्ण अडान र राष्ट्रवादी सोच भएको नेताले नेतृत्व गरेको पार्टीले देशलाई संकटबाट मुक्त तुल्याउनका निमित्त ऐतिहासिक योगदान पुर्‍याउन सक्ने भन्दै उनले नेकपा एमालेबाट देशले साहसिक निर्णयको अपेक्षा गरेको समेत बताए।

उनले भने, ‘तपाईहरुको लोकप्रिय अध्यक्ष केपी ओलीसँग एउटै सरकारमा रहेर मैले पनि केही समय काम गर्ने अवसर पाएको थिएँ। जति बेला केपी ओलीको नेतृत्वमा हामी सरकारमा सहभागी भयौँ, त्यतिबेला देशमा आन्दोलनको आगो बलिराखेको थियो। भारतीय नाकाबन्दीले देश र जनताले कष्ट भोग्नु परेको थियो, त्यो अवस्थामा आज मलाई यो कुरा भन्दा गौरव हुन्छ केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिई भारतीय नाकाबन्दीलाई अन्त गर्न सफल भयौँ।’

उनले थपे- ‘मधेसमा बलिरहेको आन्दोलनको आगोलाई मत्थर पार्नका निमित्त सफल भयौँ।’

साथै अध्यक्ष थापाले ओलीकै मार्गदर्शन अन्तर्गत रहेर आफूहरुले छिमेकी मित्र राष्ट्र चीनसँग व्यापार पारवाहन लगायत रेल, तेल र विजुलीको दिर्घकालीन आर्थिक सम्बन्धी नयाँ खाका निर्माण गर्न सक्षम भएको बताए।

उनले थपे, ‘अन्तर्राष्ट्रिय रङ्गमञ्चमा नेपालको इज्जत र प्रतिष्ठालाई बढाउनको निमित्त सक्षम भयौँ।’

ओली सरकारको पछिल्लो गतिविधिबाट भने आफू त्यति धेरै सन्तुष्ट नभएको उनको भनाइ थियो।