काठमाडौँ – केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोधविना सम्पन्न भएको जनाएको छ। विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ विनाकुनै अवरोध सम्पन्न भएको बताएको हो।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा उब्जिएको भए पनि सम्बन्धित पक्षहरुसँग छलफल गरी जनगणना कार्यलाई अगाडि बढाएको बताए। उनले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको जानकारी दिए।

‘जनगणना सम्पन्न भएको मंसिर मसान्तसम्ममा सबै जिल्ला जनगणना कार्यालयबाट केन्द्रमा आउँछ। केन्द्रमा आइसकेपछि हामीले तथ्यांक इन्ट्री गर्ने काम गर्छौं। डाटा इन्ट्री गर्न ६ देखि ८ महिना लाग्ने अनुमान गरेका छौँ’, महानिर्देशक श्रेष्ठले भने, ‘डाटा इन्ट्री सकिएपश्चात त्यसको रिपोर्ट निकाल्ने क्रम जारी गर्छौं। अबको एक वर्षपछि मात्र राष्ट्रिय रिपोर्टदेखि पूर्ण रिपोर्टहरु निकाल्ने क्रम जारी हुँदै जान्छ। यो सँगसँगै अबको दुई वर्षमा सबै का पूरा हुन्छ। नेपालको जनसंख्याको प्रारम्भिक नतिजा आजको मितिले तीन महिनाभित्र दिन सक्छौँ।’

उनले केही गणकहरुले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरिवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको उनले स्पष्ट पारे। दुर्गम र पुग्न कठिन ठाउँहरुमा पनि गणकहरुले जनगणना गरेको उनले बताए।

गणकहरु तिङ्कर र छारुङसम्म पुगेर जनगणना गरेको उनले उल्लेख गरे। ‘मुख्य गणनाको सन्दर्भमा पास उपलब्ध भएको अवस्था रहेन। नरहेपछि हाम्रा साथीहरु मान्छे हिँड्ने बाटो नै होइन, जंगल नै जंगलको बाटोमा तीन दिन लगाएर रुखका हाँगाहरु समातेर माथिसम्म पुग्नुभयो। तिङ्कर र छारुङमा पनि सम्पन्न गर्नुभयो’ , महानिर्देशक श्रेष्ठले भने, ‘बाटोबाट आफै फर्किन सक्ने अवस्था थिएन। उहाँहरुलाई हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याउने काम सम्पन्न गर्‍यौँ।’

विभागले देशभरका सम्पूर्ण भूभागमा जनगणना सम्पन्न गरिसकेको र केही विवादित क्षेत्रहरुमा भने कूटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ।