सिमकोट – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । गत साउन महिनाभित्रै गर्नुपर्ने सुनुवाई कार्यक्रम गाउँपालिकाले स्थानीयको दवावपछि गरेको हो ।

गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाले आफ्नो कार्यकालको पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम भएको जानकारी दिए । उनले दुई वर्ष अगाडी गर्ने तयारी गरिएको भएपनि कोरोनाको कारण गर्न नसकिएको बताउदै अहिले आएर दुई आर्थिक वर्षको सुनुवाई सँगै गरिएको बताए ।

कार्यक्रममा उनले सेवाग्राहीबाट आएका जिज्ञासाहरुको पनि जवाफ दिएका थिए । गाउँपालिकाबाट सम्पादन भएका कार्यहरुमा शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशु विकास र पर्यटन क्षेत्रबाट प्राप्त उपलब्धिहरुको पनि जानकारी गराईएको थियो ।

यसअघि खेला प्रमुख अस्विीनी कुमार देवकोटाले आव ०७७।०७८ मा गाउँपालिकामा प्राप्त भएको बजेट ४२ करोड ४६ लाख १३ हजार २४२ रुपैयाँमा २० लाख ५६ हजार २९६ रुपैयाँ फिर्ता गएको र बाँकी बजेट शिर्षक अनुसार खर्च भएको गराएका थिए ।

कुल खर्च भएको बजेट मध्य ३३ लाख ७९ हजार रुपैयाँ कोरोना रोकथामका लागि खर्च भएको जानकारी गरिएको थियो । त्यसैगरी उनले आ.व. ०७६।०७७ मा गाउँपालिकालाई प्राप्त भएको बजेट ३४ करोड ६४ लाख ३९ हजार ५०४ रुपैयाँको आयव्यय पनि प्रस्तुत गरेका थिए।

उक्त आर्थिक वर्षमा ४४ लाख १८ हजार ७०७ रुपैयाँ कोरोना संक्रमणका लागि खर्च गर्नु परेको कार्यक्रममा जानकारी गरिएको थियो । ७५ लाख ७६ हजार रुपैयाँ फिर्ता गर्नु परेको जानकारी गरिएको थियो ।

लेखा प्रमुख देवकोटाले उक्त आ.व. मा दुई करोड ७७ लाख ५२ हजार रुपियाँ गाउँपालिकाको संचित कोषमा जम्मा गर्न सफल भएको बताए। स्थानीय सेवाग्राही, सरोकारावाला पक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा आर्थिक पारदर्शिता कायम गर्न र पालिकाले सम्पादन गरेका कार्यक्रमबाट प्राप्त उपलब्धिहरुको सार्वजनिकीकरण गर्न कार्यक्रम आयोजना गरिएको हो ।