पछिल्लो केही दिनमा भारतको राजधानी नयाँदिल्ली शहर अनिश्चितकालीन लकडाउनको अवस्थामा पुगेको छ । यस पटकको लकडाउन कोभिड–१९ संक्रमणका कारण होइन, वायु प्रदूषणको कारणले भएको हो । यो समयमा शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालय, सवारी साधन लगायत मानिसका नियमित क्रियाकलाप र चहलपहल ठप्प परेका छन् ।

यस्तो वायु प्रदूषण नेपालका धेरै शहरमा पनि बढिसकेको छ र यो अवस्था सिर्जना नहोला भन्न सकिंदैन । यसको प्रमुख कारण वन आगलागी, सवारी साधन, माटोको भू–क्षय, कलकारखानाको वृद्धि, अप्राकृतिक बस्ती निर्माण लगायत पोलिथिनजन्य पदार्थ पनि हो ।

वायु प्रदूषणको मुख्य सूचक पोलिथिनजन्य पदार्थको प्रयोग र यसलाई जलाउँदा निस्कने धुवाँ हो । त्यसैले पोलिथिनजन्य पदार्थ जलाउँदा पर्ने असर साथै यसको न्यूनीकरणको उपाय सम्बन्धी प्रष्ट्याउन यो आलेख तयार पारिएको हो ।

पछिल्लो समयमा गृहिणीहरूले प्लाष्टिक तथा पोलिथिनबाट दाउरामा आगो सल्काएका दृश्यहरू नेपालका अधिकांश ग्रामीण ठाउँमा देख्न सकिन्छ । घरभित्र खाना पकाउन वा घर बाहिर वस्तुभाउलाई कुँडो पकाउने चलन गाउँघरमा बढ्दो छ । आगो सल्काउनको लागि प्लाष्टिक छिटोछरितो हुने हुँदा पोलिथिनका झोला र अन्य खाद्य वा अखाद्यका पोलिथिनजन्य प्याकेटको जोहो गर्ने चलन स्थापित भइसकेको छ ।

त्यस्तै घर, पसल, होटल, कलकारखाना, उद्योगबाट निस्किएको पोलिथिनजन्य फोहोरलाई जलाउने कार्य झन् बढ्दो छ । प्लाष्टिक तथा पोलिथिनको अधिक प्रयोग र यसलाई खुला रूपमा थुपार्ने र जलाउने कार्यले हाम्रा वस्ती कुरूप बन्दै गएका छन् ।

सयौं वर्षसम्म नकुहिने, माटोको उर्वरशीलतामा ह्रास ल्याउने राक्षसरूपी पोलिथिनको प्रयोग र यसको विसर्जन यही अनुपातमा बढ्दै गए अबको केही वर्षभित्र नै ठूलो समस्या उत्पन्न हुने निश्चित देखिन्छ । अझ पोलिथिनजन्य पदार्थ जलाउने संस्कारको विकास भइसकेकोले यसले मानव स्वास्थ्य, माटो र वातावरणमा पार्ने गहिरो प्रभाव तथा असरको बारेमा आम मानिसले बुझ्न र बुझाउन अति जरूरी छ ।

पोलिथिनजन्य पदार्थ के हो ?

अहिलेको विश्व जनजीवनलाई सहज र आरामदायी बनाउन मानवले अगाडि बढाइरहेको अति आवश्यक एक वस्तु हो, प्लाष्टिक तथा पोलिथिन । यो अन्य वस्तुको तुलनामा हलुङ्गो, पुनः प्रयोग हुने, टिकाउ र कम मूल्य पर्ने हुँदा क्षणिक रूपमा आकर्षित गरिरहेको छ ।

हामीले पोलिथिन र प्लाष्टिकलाई एकै अर्थमा बुझेका छौं तर यसमा केही भिन्नता छ । प्लाष्टिक ताप र दबाब लागू गरेर सजिलैसँग पुनः आकार दिइएको एक वस्तु हो । त्यस्तै, पोलिथिन भनेको एक प्लाष्टिक हो तर सबै प्लाष्टिक पोलिथिन हैनन् ।

पोलिथिन एक रासायनिक प्रतिरोध, पारदर्शिता, लचिलोपन र पोलिमराइजिङ्ग इथिलिन पदार्थले बनेको सिन्थेटिक गुण भएको वस्तु हो । यसलाई मुख्यतया खाद्य वा अखाद्य वस्तुको किनमेलको लागि झोला र प्याकिङ प्रयोजनको लागि प्रयोग गरिन्छ ।

सर्वप्रथम सबै मानिसले बुझ्ने भाषामा खुला रूपमा फालिएका पोलिथिन र प्लाष्टिक सहित खाद्य वा अखाद्य वस्तुका प्लाष्टिकका खोलहरू, तार तथा विद्युतीय सामग्री, टायर, खेलौना, प्लाष्टिक भाँडाहरू, जुत्ताचप्पल, कपडा, बोरा लगायत सबै काम नलाग्ने चिजलाई पोलिथिनजन्य पदार्थ भनेर बुझौं । हाम्रो नेपाल जस्तो अविकसित मुलुकहरूमा पोलिथिनजन्य पदार्थ जलाउने गर्दछन् । यो पनि अहिले मानव स्वास्थ्य र पर्यावरणसँग जोडिएको जटिल समस्या हो ।

पोलिथिनजन्य पदार्थलाई घरको छेउमा, खेतबारीको कुनामा, सार्वजनिक ठाउँ, पानीका स्रोतहरूमा जथाभावी फाल्ने र जलाउने गरेका छौं । यी पोलिथिनजन्य पदार्थको मात्रा दिन प्रतिदिन थपिंदै गएको छ । सयौं वर्षसम्म नकुहिने, माटोको गुणस्तरमा ह्रास, इकोसिस्टममा असन्तुलन गराउने पोलिथिनजन्य पदार्थको असर र यसलाई जलाउँदा हुने असरको बारेमा केही चर्चा गरौं ।

मानव स्वास्थ्यमा असर

पोलिथिनजन्य पदार्थ मानव स्वास्थ्यमा जटिल समस्याको रूपमा देखिएको छ । यी पदार्थको व्यवस्थापनका लागि मुख्यतया जलाउने गरिएको छ । हामी बाटोमा हिंड्दा वा यात्रा गर्दा विभिन्न ठाउँमा यी पोलिथिनजन्य पदार्थलाई जलाइराखेको देख्छौं ।

जर्नल अफ द अमेरिकन क्यान्सर सोसाइटीमा प्रकाशित एउटा अध्ययनले यसरी पोलिथिनजन्य पदार्थ जलाउँदा यसको दुर्गन्धित धुवाँले दीर्घकालीन रूपमा मानिसको माथिल्लो श्वासनलीमा क्यान्सरको जोखिम पार्दछ । त्यस्तै धेरै रोगहरूको जोखिम बढादँछ ।

हृदयघात, दम, फोक्सोमा समस्या जस्ता श्वास–प्रश्वास सम्बन्धी रोगहरूको संक्रमण बढाउँदछ । त्यस्तै टाउकोदुखाइ र स्नायु प्रणालीलाई पनि क्षति पुर्‍याउँछ ।

यसको असरले विशेष गरी केटाकेटी, गर्भवती महिला र वृद्धहरूलाई गम्भीर समस्या उत्पन्न गराउँछ । एक अध्ययनले पोलिथिनसँगै कपडा, दाउरा, टायर तथा अन्य हानिकारक पदार्थ जलाउँदा निस्कने धुवाँबाट दम, एम्फाइसेमा, निमोनिया र ब्रोन्काइटिस, फोक्सोमा समस्या, श्वास–प्रश्वास सम्बन्धी रोगहरू, हृदयघात, स्ट्रोक आदि जस्ता घातक रोगहरूले आक्रमण गर्दछ ।

पोलिथिन जलाउँदा उत्पन्न हुने धुवाँमा शिशा, फलाम र म्याग्नेसियमको मात्रा पाइने हुनाले मानव शरीरमा विषाक्त बोझ बढाउँदछ । जब यी पदार्थ मिसिएको ग्याँस श्वास–प्रश्वासबाट लिन्छौं, हाम्रो शरीरलाई यी विषाक्त पदार्थहरू हटाउन मिर्गौलालाई भार पर्दछ । यसको असरले मिर्गौलामा विभिन्न समस्या निम्त्याउँछ ।

उक्त धुवाँले आँखा, फोक्सो, घाँटी र साइनसको उत्तेजित असर गर्दछ । ट्रिगर, टाउको दुखाइ र एलर्जी पनि बढाउँछ । लामो अवधिको जोखिमले पुरानो अवरोधक फोक्सोको रोग र जीर्ण हुन सक्छ ।

दीर्घकालीन रूपमा क्यान्सर तथा म्युटेशन बढाउँदछ । अझ यसलाई जलाउन संलग्न व्यक्तिलाई मुख्यतया नाइट्रोजन अक्साइड, कार्बनमोनोअक्साइड ग्याँस सासिएर तत्काल खोकी, सास फेर्न अप्ठ्यारो भई चक्कर समेत आउँछ । यसको धुवाँको सबैभन्दा बढी असर बालबालिका, वृद्ध आमाबुवा, गर्भवती महिला र दीर्घरोगीलाई पर्दछ ।

हाम्रो समाजमा जाडो मौसममा आगो ताप्ने प्रचलन रहेको छ । कतिपय खुला स्थान तथा राजमार्गमा दाउरा सँगै पोलिथिनजन्य पदार्थ र टायर बालेर पनि आगो ताप्ने चलन देखिन्छ । यसबाट निस्कने धुवाँमा कार्वन मोनोअक्साइड, फर्मल्डिहाइड, जैविक ग्याँस एल्डिहाइड ग्याँस र अन्य श्वास–प्रश्वासमा उत्पन्न इरेन्ट्स समेत, बेन्जिन, बेन्जो (ए)पाइरेन र डिबेन्च (ए,एच) एन्थ्रेसिन, नाइट्रोजन अक्साइड, पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन (पिएएचएस) र डाइक्सिन जस्ता ग्याँस समेत निस्कन्छन् । यस्तो धुवाँबाट हुने हानि ३० चुरोट खिलीले भन्दा ४३०० गुणा बढी उत्पन्न गराउँछ ।

पोलिथिनजन्य पदार्थ जलाउँदा न्युरोलोजिकल लक्षणहरू जस्तै टाउको दुख्ने, ध्यान केन्द्रित नहुने, बिर्सने तथा मस्तिष्क कोषहरूमा स्नायु सम्बन्धी समस्या पनि बढाउँदछ । पोलिथिन जलाउँदा उत्पन्न हुने धुवाँमा शिशा, फलाम र म्याग्नेसियमको मात्रा पाइने हुनाले मानव शरीरमा विषाक्त बोझ बढाउँदछ । जब यी पदार्थ मिसिएको ग्याँस श्वास–प्रश्वासबाट लिन्छौं, हाम्रो शरीरलाई यी विषाक्त पदार्थहरू हटाउन मिर्गौललाई भार पर्दछ । यसको असरले मिर्गौलामा विभिन्न समस्या निम्त्याउँछ ।

पोलिथिनजन्य पदार्थ जलाउँदा मानव स्वास्थ्यमा दाउराको धुवाँ भन्दा कैयौं गुणा असर गर्दछ । यसको धुवाँले टोल, छरछिमेक मात्र हैन पूरै गाउँ तथा पेरीफेरीको क्षेत्रलाई नै प्रभावित पार्दछ । पोलिथिनबाट उत्सर्जन ग्याँसको दीर्घकालीन जोखिम भनेको क्यान्सर रोग निम्त्याउनु हो ।

त्यसैले कुनै एक ठाउँमा जलाइएको पोलिथिनजन्य पदार्थले समग्र मानववस्तीको स्वास्थ्यमा असर गर्दछ । पोलिथिन जलाउँदा उत्पन्न हुने यस्ता घातक तत्वहरूको थोरै परिमाणबाट मानव लगायत धेरै प्राणीहरूको मृत्यु दिनप्रतिदिन निम्त्याइरहेको छ । पछिल्लो समयमा हाम्रो समाजमा दम र हृदयघातको कारणले मृत्यु हुनेको संख्या बढ्नुको केही हिस्सा पोलिथिनजन्य पदार्थ जलाउनुको कारण पनि हो ।

माटो, जमीन र पर्यावरणमा असर

यसरी जथाभावी पोलिथिनजन्य पदार्थको प्रयोग र विसर्जनले पछिल्लो दशकमा प्राणदायी माटो, रसमय भूमि र धर्तीको लागि राक्षसी रूपमा देखिरहेकोे छ । सामान्यतया पोलिथिनजन्य पदार्थ कुहिन औसत ५०० वर्ष लाग्दछ । यसले उर्वरशील माटोको गुणस्तरमा ह्रास ल्याउँछ ।

सिंचाइ तथा पानीको माध्यम र हावाको माध्यमबाट पनि पोलिथिनजन्य पदार्थ कृषि भूमिमा विसर्जन हुनेहुँदा उर्वरशील माटोलाई असर गर्दछ । बालीनाली, बिरुवा तथा वनस्पतिको जरामा पोलिथिनले असर गराउँदछ ।

कतिपय स्थानमा पोलिथिनजन्य पदार्थ विसर्जन भएको ठाउँमा जलाउने गरिन्छ । कैयौं हप्तासम्म आगो रहिरहने हुँदा जीवजन्तु, पक्षी र वनस्पतिलाई असर गर्दछ । त्यस्तै यसबाट डढेलो उत्पन्न भएर वन-जंगलमा आगलागी पनि बढ्दछ । वर्षेनि यसरी लगाइने आगोले लाखौं हेक्टर वन नष्ट भएको छ । यसले हजारौं जीवजन्तु र वनस्पतिको अस्तित्व सखाप पारिरहेको छ ।

पोलिथिनजन्य पदार्थ सँगै घरबाट निस्कने फोहोर, रङ्गरोगन जस्ता सामग्रीहरू जलाउनु वातावरणको लागि हानिकारक छ किनभने यी सामग्रीहरूले विषाक्त रसायनसँगै वायुलाई प्रदूषित गर्दछ । यस्तो प्रदूषित वायुलाई मानिस र जनावरले श्वास प्रश्वासको माध्यमबाट प्रत्यक्ष लिन्छन् र माटो र जमीनको सतह प्रदूषित वायु लामो समयसम्म रहन्छ यसले बोटबिरुवा, जमीन र पानीका स्रोतलाई दूषित समेत गराउँछ ।

पोलिथिनजन्य पदार्थ जलाउँदा धुवाँ र त्यसमा तरङ्गित स–साना अति हलुङ्गा कणहरू लामो दूरीको यात्रा गर्दछन् । खुला रूपमा पोलिथिनजन्य पदार्थ आगो लगाउने बानीले गर्दा घरमा गोठ तथा भवनहरूमा आगलागीको जोखिम पनि बढ्दछ । जसले गर्दा घर, गोठ, कारखाना तथा गोदाममा आगलागीबाट धनजनको क्षति हुन्छ ।

त्यस्तै रङ्गरोगन, ब्याट्रीको एसिड, फ्लेक्सहरू जमीनमा फाल्ने, मेडिकल तथा औषधि पसलबाट निस्किएका फोहोर तथा सिरिञ्ज जलाउने तथा जथाभावी फाल्ने, आन्दोलनमा सडकमा टायर बाल्ने, विभिन्न वैज्ञानिक प्रयोगशाला प्रयोग पश्चात रासायनिक वस्तुहरू जलाउने क्रियाकलापहरू पनि बढ्दै गएका छन् ।

यसरी जलाइएका र बाँकी रहेको अवशेषले माटो र जमीनलाई दूषित बनाउँछ । बाली र पशुपालन मार्फत हाम्रो खाद्य पदार्थसम्म प्रवेश गर्दछ । पोलिथिनजन्य पदार्थ वा जलाइएका अवशेषहरू जनावरले खाएपछि शरीरमा जम्मा भएर मासु र माछाको रूपमा पनि मानिसको शरीरसम्म पुग्दछ ।

त्यति मात्र हैन विभिन्न जीवजन्तुको वासस्थान नै जलेर लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । यसको असरले वायुमण्डलमा प्रदूषण र जलवायु परिवर्तनमा नकारात्मक प्रभाव पार्दछ । साथै ओजन तहलाई असर गर्दै ग्रीन हाउस ग्याँसमा समेत क्षति पुर्‍याएको छ ।

यसरी दैनिक रूपमा आगो जलाउने बानीले मानिसले आगोलाई साधारण रूपमा ठान्दछन् । जताततै आगो लगाउने देखेपछि बालबालिकाले पनि सिको गर्दछन् । कतिपय ग्रामीण ठाउँहरूमा बालबालिकाले सलाई, लाइटर लिएर हिंडेको देखिन्छ । त्यसैले पोलिथिनजन्य पदार्थ खुला रूपमा जलाउने कार्य सामाजिक अपराध हो ।

न्यूनीकरणको उपाय

वातावरण तथा मानव स्वास्थ्यमा यसले पार्ने दीर्घकालीन असरको बारेमा सरोकारवाला व्यक्तिलाई ज्ञान भए तापनि यसको प्रयोगलाई हामीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रोत्साहन दिइरहेका छौं । यदि पोलिथिनजन्य पदार्थको प्रयोग यही अनुपातमा वृद्धि भए अबको केही वर्षमा हाम्रा शहरहरू पोलिथिनमय कुरूप हुनेछन् । किनकि यसरी विकराल रूपमा बढ्दै गएको पोलिथिनजन्य फोहोरको प्रयोगले ठूलो समस्या उत्पन्न हुने निश्चित नै छ ।

त्यो परिणामलाई व्यवस्थित गर्न ठूलो रकम र जनशक्तिको आवश्यकता पर्ने देखिन्छ । सर्वप्रथम हरेक घर, टोल, समाज, राजमार्ग, मैदान कतै पनि पोलिथिनजन्य पदार्थ जलाउने कार्य बन्द गर्नुपर्दछ । यसको न्यूनीकरण गर्ने प्रमुख उपाय भनेको जनचेतना नै हो ।

यदि पोलिथिनजन्य पदार्थको प्रयोग र जलाउँदा उत्पन्न हुने असरको बारेमा आम मानिसलाई प्रशिक्षित गर्न सकियो भने यसले दीर्घकालीन व्यवस्थापनमा सहयोग पुर्‍याउँदछ । विभिन्न स्थानीय निकायहरूले पोलिथिनजन्य पदार्थको उचित व्यवस्थापन र जलाउने कार्य बन्द गर्न जनचेतनामूलक अभियान गर्नुपर्दछ ।

विभिन्न भोजभतेर, पिकनिक स्थल, राजमार्ग, विभिन्न कार्यक्रममा मानिसहरूले छरपस्ट रूपमा पोलिथिनजन्य पदार्थ विसर्जन गर्ने र जलाउने कार्य पनि तुरुन्त रोक्नुपर्दछ ।
स्थानीय निकाय वा फोहोर व्यवस्थापन सम्बन्धी संघसंस्थाहरूको नियमित संकलन कार्यले पनि पोलिथिनजन्य पदार्थ जलाउने कार्य न्यूनीकरण हुन जान्छ । विद्यालयका पाठ्यक्रममा यस्ता खालका व्यावहारिक शिक्षामूलक विषयहरू समावेश गर्न सकिन्छ । यदि विद्यालयका साना नानीबाबुहरूलाई सचेत गराउन मात्र सकियो भने उनका अभिभावकहरूलाई पनि चेतना बढ्न प्रभावकारी हुन सक्दछ ।

पोलिथिनजन्य पदार्थको विकल्पको रूपमा वातावरणमैत्री सामग्रीको प्रयोगलाई बढावा दिने खालको कार्यक्रमले पनि पोलिथिनको व्यापकता घट्दै जानेछ र जलाउन पनि न्यूनीकरण हुनेछ ।

जोगाऔं माटो, जल, जमीन, जंगल ।
यही हो हाम्रो धन, नयाँ नेपालको संकल्प !!

(पर्यावरण संरक्षण अभियन्ता लेखक शून्य पोलिथिन अभियानमा पनि सक्रिय छन् ।)