नेकपा एमालेको पार्टीको १०औं महाधिवेशनको उद्घाटन सुरु हुनै लाग्दा भीम रावल सहमती आएका छन् । उनी केपी ओलीले बोलाएको बैठकमा जान सहमत भएका हुन् ।

पार्टीको १०औं महाधिवेशनका लागि चितवनको सौराहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्व सम्बन्धमा सहमति जुटाउन अहिले छलफल गरिरहेका छन्।

अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई पनि उनले छलफलमा बोलाएका छन्। आफू बसेको सौराहास्थित पार्क सफारी रिसोर्टमा अध्यक्ष ओलीले शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका हुन्।

रावल पुगेरनपुगेको थाहा हुन सकेको छैन। तर उनलाई पनि छलफलमा डाकिएको एक नेताले जानकारी दिएका छन्। तर स्रोतका अनुसार रावल ओलीले डाकेको छलफलमा जाने तयारीमा छन् ।

ओली बिहीबारै चितवन पुगेर पार्क सफारी रिसोर्टमा बसिरहेका छन्। नेकपा हुँदैदेखि सुरु भएको विग्रहले एमालेलाई पनि पिरोलेर घाइते बनाएको अवस्थामा महाधिवेशन हुँदै गर्दा ओलीमाथि सहमतिबाटै नेतृत्व छान्न चर्को दबाब परेको छ।

नेकपा एमालेको दसौँ महाधिवेशन शुक्रबार नारायणी नदी किनारमा हुँदैछ। त्यसका लागि ५० लाख खर्चेर एमालेले मञ्च बनाइसकेको छ। माधवकुमार नेपाल र झलनाथ खनालहरू बाहिरिएपछि हुन लागेको यो महाधिवेशन एकताका लागि हुने नेताहरुले बताइरहेका छन्।

एमाले नेताहरु आजैदेखि उद्घाटनस्थलभन्दा नारायणगढभन्दा बन्दसत्रस्थल सौराहामा केन्द्रित भइसकेका छन्। अध्यक्ष केपी शर्मा ओलीदेखि सबै शीर्ष नेताहरुको मुकाम अहिले सौराहा भएको छ। ओली बिहीबारै चितवन पुगेर पार्क सफारी रिसोर्टमा बसिरहेका छन्।

मंसिर महिना र हिउँदको चिसो बढ्दै गएकाले होला बिहीबार मध्यराति सौराहालाई हुस्सुले ढाकेको छ। रात्रिकालीन चिसोमा अनौठो दृश्य के छ भने एमाले नेताहरुका दौडधूप रोकिएको छैन।

अध्यक्ष ओली बसेको पार्क सफारी रिसोर्टमा बिहीबार साँझदेखि नै नेताहरुको लर्को लागेको छ। बिहीबार दिउँसो पार्टी सम्वद्ध बुद्धिजीवी परिषदको कार्यक्रमलाई सम्बोधन गरेका ओली सौराहामै बसे। अहिले सौराहामा अध्यक्ष ओलीदेखि महाधिवेशन प्रतिनिधिसमेत करिब १२ सय एमाले कार्यकर्ता पुगिसकेका छन्।

उनी महाधिवेशन उद्घाटनस्थल नारायणगढ नआई एमालेको आन्तरिक राजनीतिबारे पार्क सफारीमै बसे छलफलमा जुटे। यो छलफल अहिले मध्यराति यो समाचार लेख्दा पनि जारी छ।

प्रदेशस्तरका नेताहरुसँग यसअघि छलफल गरेका ओली अहिले आफूनिकट नेताहरुसँग संवादमा छन्। प्रधानमन्त्रीका रुपमा बालुवाटारमा हुँदा पनि ओली राति १ बजेसम्म आफूनिकटस्थसँग छलफल गरेर बस्थे।

नेकपा हुँदैदेखि सुरु भएको विग्रहले एमालेलाई पनि पिरोलेर घाइते बनाएको अवस्थामा महाधिवेशन हुँदै गर्दा ओलीमाथि सहमतिबाटै नेतृत्व छान्न चर्को दबाब परेको छ।

एमालेको नयाँ नेतृत्व चयनमा सर्वसम्मतिका लागि नेताहरुले ओलीमाथि दबाब बढाएका हुन्। अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतिबाटै छान्नुपर्ने भन्दै नेताहरुले ओलीलाई अहिले पनि भेटिरहेका छन्।

पार्टी फुटको गम्भीर संकट झेलेर आएको भन्दै सहमतिबाटै नेतृत्व छान्नु पर्ने सन्देशसहित बिहीबार साँझ प्रदेश १ को टोली लिएर एमाले उपनेता सुवास नेम्वाङ पार्क सफारी पुगे।