काठमाडौं । एमालेकाे दशाैं महाधिवेशन आज २०७८ मंसिर १० गते शुक्रवारबाट बागमती प्रदेशकाे चितवन जिल्लामा सुरू भएकाे छ । यस महाधिवेशनमा एमालेका पुराना वरिष्ठ नेतालाई निकै अभागी ‘नेता’भने चर्चा सुरू गरिएकाे छ । हुन पनि यी अभागी वरिष्ठ नेताले दु:खिलाे गरेकाे आफ्नै पार्टीको बहुमत हुँदा समेत मुख्यमन्त्री हुने साैभाग्य जुरेन ।

एमालेका यी वरिष्ठ नेताले प्रदेश सरकार परिवर्तन गरेर मुख्यमन्त्री हुनलाई चार पटक भरमग्दुर प्रयास गरे । ती सबै प्रयास असफल भए । ५ वर्षे प्रदेशकालीन सरकारमा सबैभन्दा अभागी नेता हुन् कर्णाली प्रदेशका एमाले नेता यामलाल कँडेल । एमालेको पोलिटव्युरो सदस्य भइसकेका पूर्व मन्त्री कँडेल निकै वर्षअघि संघीय सरकारको पर्यटन मन्त्रीसमेत भइसकेका थिए ।

प्रदेशमा मुख्यमन्त्री हुने सपनासहित कँडेल २०७४ को निर्वाचनमा प्रदेश सभामा उठ्ने निर्णय लिए । कर्णाली प्रदेशमा एमालेले ४० सीटमा २० सीट जित्यो पनि । बहुमतका लागि एक सीट अपुग थियो । त्यस्तो अवस्थामा पनि सहमतिका नाममा कँडेलले माओवादीका महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री छोड्नुप¥यो । परिस्थितिले कँडेल र शाही एउटै पार्टीमा रहे तर पनि हार्दिक सम्बन्ध भएन ।

पछि नेकपा विभाजन हुँदा माओवादीका एकजना सांसदले पार्टी नै छोडेपछि उनको सांसद पद गुम्यो । त्यसपछि एमाले एक्लै बहुमतमा पुग्यो । त्यो बेला पनि मुख्यमन्त्री परिवर्तन गरेर कँडेल मुख्यमन्त्री बन्न सकेनन् । आफ्नै पार्टीका चार जना सांसदले धोका दिएपछि कँडेल मुख्यमन्त्री हुन नसकेका हुन् ।

सुरुमै मुख्यमन्त्री नपाएका कँडेलले नेकपा भएपछि पार्टीमा स्थायी कमिटी सदस्य मागेका थिए । केपी ओली र प्रचण्डलाई भेटेर नै मुख्यमन्त्री नपाएकोले कर्णाली प्रदेशबाट स्थायी कमिटीमा आफूलाई ल्याउन माग गरेका थिए । कर्णाली प्रदेशबाट पूर्व एमाले टीमबाट स्थायी कमिटीमा कोही पनि थिएनन् । त्यसैले कँडेलको जोडदार माग रहेको थियो । त्यो माग पनि सुनवाई भएन ।

अहिले दशौं महाधिवेशनमा कँडेलले फेरि अर्को प्रयास सुरु गरेका छन् । त्यो भनेको एमालेको महाधिवेशनबाट सचिव हात पार्ने । केपी ओलीलाई रिझाएर सचिव लिने ध्याउन्नमा लागेको चर्चा छ । त्यसका लागि कर्णालीका आफूनिकटहरुबाट दबाब बढाउन पनि लगाउन थालेका छन् । पार्टीभित्र र बाहिर छलफल र बहसमार्फत कँडेलले कर्णालीले कम्तीमा एउटा पदाधिकारी पाउनुपर्ने अभियान चलाएका छन् ।

त्यो भनेको आफूले सचिव पाउनुपर्ने भन्ने हो । स्रोत भन्छ, कँडेल आफै भने मुख खोल्न सकिरहेका छैनन् । पार्टीमा बहुमत भएर पनि मुख्यमन्त्री त्याग गर्नुपरेको पीडा, पार्टीको स्थायी कमिटीका लागि योग्य हुँदाहुँदै नभएको पीडा कहिलेसम्म बाेक्ने भन्दै अहिले अवसर पाउनुपर्ने कँडेलको दावी छ ।

कर्णालीको सर्वसम्मत आवाज

एमालेका युवा नेता तथा केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक रूपमा माग गर्दै भनेका छन्- ”समग्र कर्णालीको सर्वसम्मत आवाज: नेकपा (एमाले) को केन्द्रीय नेतृत्वमा कर्णालीको सहभागिता हुनैपर्छ । यसर्थ कर्णालीले यस पटक कमरेड यामलाल कँडेललाई सचिव पदमा उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ । आशा एवम् विश्वास छ- हाम्रो यस आवाजलाई महाधिवेशन प्रतिनिधिहरूले सुन्नुहुनेछ र मतदान गर्नुहुनेछ ।”