कास्की – गण्डकी प्रदेश सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको छ। शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बिहीबार पोखरामा आयोजना गरेको एक कार्यक्रमबीच मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई सडक मानवमुक्त घोषणा गरे।

प्रदेश सरकारको अभिभावकत्वमा ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ८५ वटै पालिका तथा मानव सेवा आश्रमको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको सरकारले जनाएको छ।
सडक मानव व्यवस्थापनका लागि प्रदेश सरकारले मानव सेवा आश्रमसँग सम्झौता गरेको छ। यसका लागि प्रदेश सरकारले आश्रममा रहेकालाई प्रतिव्यक्ति मासिक तीन हजार उपलब्ध गराउनेछ।

सडकमा आश्रित मानिसको उद्धार गरी मानव सेवा आश्रममा राखेर सडक मानवमुक्त बनाउने योजना छ। अहिले मानव सेवा आश्रमले गण्डकीका चार जिल्लामा सेवा सञ्चालन गर्दै आएको छ। ती केन्द्रमा हाल ४ सय जना आश्रित छन्।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार भौतिक विकास मात्र नभई सामाजिक विकासका क्षेत्रमा समेत क्रियाशील रहेको बताए।

पर्यटकीय नगरी पोखरामा सडकमा आश्रित मानवका कारण नकारात्मक सन्देश गइरहेको र अभिभावकविहीनलाई संरक्षण गर्ने दायित्व प्रदेश सरकारको रहेको बताए।

उनले भने, ‘हामी बाटोघाटो पनि बनाउँछौँ, त्यसका अतिरिक्त सामाजिक क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेका छौँ।’ मन्त्रालयले कोरोनबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययनका लागि राहत वितरण सुरु गरेको छ।