काठमाडौँ– बालविवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने भन्दै जोन्टा क्लब अफ काठमाडौंले बिहीबारदेखि लैंगिक हिंसाविरुद्ध अभियान थालेको छ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ – डिसेम्बर १०) सँगै सुरु भएको हो।

‘कहिलेकाहीँ होइन, कहिल्यै पनि हुँदैन’ भन्ने सन्देश दिने गरी ४ वटा सर्ट फिल्म बनाएको र यी फिल्मले हिंसा, उत्पीडन र बाल–विवाह कहिल्यै पनि सहनुहुँदैन र यसको विरुद्धमा बोल्नै पर्ने भनेर सन्देश दिन खोजेको जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले जानकारी दिइन्।

उनले भनिन्, ‘हामी आशा गर्छाैं कि यी भिडियोले पीडितलाई सहयोग माग्न हौसला दिनुका साथै सुरक्षित रूपमा सहयोग लिन सकिने ठाउँबारे जानकारी दिनेछन्।’

यससँगै जोन्टाले अभियानको एक हिस्साको रूपमा काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्नेछ।

सामाजिक सन्देश प्रवाह गर्न सडक नाटक बढी प्रभावकारी हुने भएकाले यिनीहरूमार्फत ‘लैंगिक हिंसा र बाल–विवाहविरुद्ध आवाज उठाऔँ’ भन्ने मुख्य सन्देश फैलाउन हामी निरन्तर लागिपर्नेछौँ,’ जोन्टा काठमाडौंका सदस्य एवं अधिवक्ता रत्न कार्कीले भनिन्।

हिंसापीडित महिलालाई कानुनी सल्लाह र सहयोग प्रदान गर्न जोन्टाले राष्ट्रिय महिला आयोगसँग मिलेर ११४५ नम्बरको हेल्पलाइन पनि खडा गरेको छ।
उक्त भिडियो सिद्धार्थ बैंक र एमजीको आर्थिक सहयोगमा बनाइएको हो।