मोरङ– प्रदेश १ सरकारले एमाले नेतृत्वको सरकारले गठन गरेको प्रदेश पर्यटन बोर्ड र प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने निर्णय गरेको छ।

बिहीबार विराटनगरमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ र प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ खारेज गर्ने निर्णय गरेको हो।

बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विगत सरकारले गठन गरेका निर्णयलाई खारेजी गर्ने प्रदेश सरकारको यसअघिको निर्णयलाई कार्यान्वयन गरिएको बताए।

मुख्यमन्त्रीमा राजेन्द्रकुमार राईले जिम्मेवारीवहन गरेको दिन बसेको मन्त्रिपरिषदको पहिलो बैठकले अघिल्लो सरकारले गरेका अवैधानिक निर्णय खारेजी गर्ने जनाएको थियो।

सोही क्रममा दुवै निकायलाई खारेजी गरिएको आन्तरिक मामिला मन्त्री कार्कीले जानकारी दिए। यस निर्णयसँगै पर्यटन बोर्डमा चयन भएका उपाध्यक्ष फणिन्द्र अधिकारीसमेत सबै सदस्यहरु स्वतः पदमुक्त भएका छन्।

अर्कोतर्फ बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठानको चलअचल सम्पति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषद बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ तथा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन २०७८ खारेज गर्ने नियमावली स्वीकृत गरेको छ।

बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली तयारीका लागि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरि बैठकले झापाको कन्काई नगरपालिका र दक्षिण कोरियाको गेहेयांगुन र यांगुन काउन्टीबीच भगिनी सम्बन्ध कायम गर्ने सहमति प्रदान गरेको छ। यसैगरि, प्रादेशिक खेलकुद बोर्डसमेत अवैधानिक भएको जनाउँदै केहीदिनमा खारेजी गरिने भएको छ।