सिमकोट – उपचारका क्रममा काठमाडौँको सुमेरु अस्पतालमा निधन भएका पत्रकार नन्द ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
पत्रकार महासंघ हुम्ला शाखाका सदस्य रहेका स्वर्गीय ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले सत्यतत्थ्य र यथार्थ समाचार सम्प्रेषण गर्ने पत्रकार ऐडीका असल गुण भएको बताए।
उनले सानै उमेरबाट दुर्गममा पत्रकारिता सुरु गरेका ऐडीको हुम्ला जिल्लाको पत्रकारिता क्षेत्रको योगदानको सधैँ कदर गर्ने बताए। महासंघ हुम्लाका पूर्वअध्यक्ष अर्जुन बोहराले ऐडीको निधनले हुम्लाको पत्रकारिता क्षेत्रलाई क्षति पुगेको बताए।

कार्यक्रममा ऐडीको तस्बिरमा माल्यार्पण र एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा महासंघमा आबद्ध सञ्चारकर्मीको उपस्थिति थियो। मिर्गाैला, कलेलो र हेपाटाइटिससम्बन्धी रोगले पीडित पत्रकार ऐडीको मंसिर ४ गते काठमाडौंका सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

उनको उपचारमा सहयोग गर्न महासंघले आर्थिक संकलन गरेर एक लाख २३ हजार रुपैयाँ हुम्लामै रहेका आफन्तमार्फत श्रीमती बबिता बुढालाई पठाएको थियो। मृतक पत्रकारका श्रीमती, दुई छोरी र एक छोरा छन्। उनी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ को पुचा गाउँ निवासी हुन्।