चितवन । चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्ने तयारीसँगै नेकपा एमालेले मस्कटका रुपमा चितवनकै पहिचान एकसिंगे गैंडालाई रोजेको थियो । एक महिनाभन्दा कम समयमा गैंडाको प्रतिकात्मक मस्कट तयार गर्नु चुनौतिपूर्ण काम थियो । एमाले महाधिवेशन मूल आयोजक समितिबाटै अनुरोध आएपछि स्थानीय मूर्तिकाल सूर्य मध्यरातले त्यसलाई स्वीकार गरे । दुई महिना लाग्ने काम उनको टिमले १० दिनमै सम्पन्न गरिदियो ।

पढेर होइन परेर मूर्तिकार बनेका माडीका यी युवाको नाम सूर्यबहादुर केसी । मध्यरात चाहिँ उनी आफैंले राखेको उपनाम । भित्तामा गोवर प्रयोग गरी भगवानका आकृत्ति कोर्दै अभ्यस्त बनेका माडी, कान्तिपुरका उनले मध्यरात उपनाम दिनुको कारण पनि रोचक छ । दिनभर मिहिनेत गरी राती अबेरसम्म बसेर मूर्तिलाई पूर्णता दिने उनको शैली छ । मध्यरातमा काम सम्पन्न गर्ने बानी परेपनि उनले आफ्नो पहिचान पनि त्यसैलाई बनाउन चाहे ।

मध्यरातको समूहले एमालेको महाधिवेशनको उद्घाटनसत्रमा राख्न उभिएको गैंडाको प्रतिकात्मक मस्कट १० दिन लगाएर बनाएका छन् । उनलाई श्रीमती चन्द्रकला, राजेश बराल सहितका १० जनाले सहयोग गरेका छन् । ‘२ महिना लाग्ने मूर्तिलाई १० दिनमै दिनरात काम गरेर सक्यौं,’ नेपाल प्रेससँगको कुराकानीमा उनले भने, ‘यो मस्कट नदी किनारमै उपहारका रुपमा छाड्ने कुराले हामी खुसी छौं ।’

मूर्ति बनाउनका लागि उनलाई एमाले महाधिवेशन मूल आयोजक समितिबाटै अनुरोध आएको थियो । ‘कामको चापहुँदा पनि चितवनको पहिचानका लागि पहिलो पटक मस्कट बनाउन तयार भएँ,’ उनले थपे, ‘जनावर र मानिसको स्वरुपलाई मिक्स गरेपछि मस्कट बन्यो, फाइबरको यो गैडा करिब २० वर्ष टिक्छ ।’

उभिएको गैंडालाई सेल्फी प्वाइन्टका रुपमा एमालेले महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा स्थायी संरचना बनाएर राखिँदैछ । मञ्चको दायाँतर्फ ढलान गरेर बनाइएको कलात्मक ढुंगामाथि मस्कट राख्ने तयारी छ ।

मध्यरातको सानैबाट चित्रकार बन्ने लक्षण परिवारलाई चित्त बुझेको थिएन । घरका मान्छे पढाइमा जोड दिन्थे । गोवरको आकृति बनाएर लसुनका केस्रा प्रयोग गरी आँखा, नाक कानसहित मूर्तिलाई निपूर्ण बनाउने उनको प्रयासमा प्रोत्साहित गर्ने कोहि थिएनन् । कक्षाको अन्तिम बेन्चमा बसेर लुकीलुकी शिक्षककै चित्र बनाएर हुर्किएका हुन्- मध्यरात ।

‘चित्रहरु हेर्दा राम्रा हुन्थे, तर प्रोत्साहित गर्ने कोहि थिएनन् । पढ्नुपर्छ भनेर सधैं गालीमात्र सुन्नुपर्थ्यो,’ मध्यरात स्मरण गर्छन, ‘४ कक्षासम्म दोस्रो हुने म विस्तारै पासमात्रै हुने बनेँ, पढाईमा भन्दा धेरै चित्र कोर्नमै मन रमाउँथ्यो ।’

गोवरबाट बढुवा भएर विस्तारै काठका टुक्राहरु कुँद्न थाले । दुरुस्तै मूर्तिहरु तयारहुँदा रमाउथे । ‘एक हप्तामा बनेको गणेशको मूर्ति बल्लबल्ल २० रुपैयाँमा बेँचे, मिहेनत गरेर बनाएको बुद्धको मूर्ति छिमेकी दाजुले सित्तैमा पनि लगे,’ उनी भन्छन, ‘मूर्ति बेचेर कमाई हुँदैन भन्ने थाहा भयो तर बनाउने मोह कहिल्यै हटेन ।’

उनी अहिले समाजशास्त्र र मूर्तिकलामा स्नातकोत्तर पढ्दैछन् । हातमा सर्टिफिकेट आएको छैन । ‘सर्टिफिकेटले जीवन नचल्ने रहेछ, सीप चाहिँदो रहेछ ।’ करिव एक दर्जन व्यक्तिका पूर्णकदका मूर्तिहरु बनाए । सयौँ अर्धकदका बनाए । देवीदेवताका हजारौं मूर्ति बनाए । सीपकै फलबाट उनले भरतपुर– ९ मा तीन तले घर जोडे । ‘७ वर्ष भाडाको घरमा बसेँ, ५ सय भाडा पनि तिर्न नसकेपछि कोठा छाड्दै हिडें,’ उनी भन्छन्, ‘अहिले आफ्नै घर बनाएँ, घरमै स्टुडियो, सोरुम छ, सन्तुष्ट छु ।’

उनी अहिले पनि दिनरात मूर्ति बनाइरहेको भेटिन्छन् । माडीको बरुवा बजारमा राख्न ८ फिट अग्लो बुद्ध, रसुवाका लागि ९ फिट अग्लो २ शहिदका मूर्ति, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा राख्न ध्वाँसे चितुवाको मूर्ति बनाउन व्यस्त छन् । उनले बनाएका मूर्ति २५ लाखसम्म बिक्री भएका छन् । मूर्तिहरुमध्ये गैडालाई ५ लाख, बाघलाई ३ लाख, हात्तीलाई ४ लाखसम्म बेच्छन् । अर्धकदका मूर्तिलाई १ लाख, पूर्णकदकालाई ३ लाखसम्म बेच्छन् । ‘मूर्ति बेचेर पनि जीवन मज्जाले चल्दोरहेछ, सानोमा लुकीलुकी चित्र कोरेको काम लाग्यो,’ उनी भन्छन्, ‘उ बेला चित्र, मूर्ति बनाउनुहुँदैन भनेर राकिन्थ्यो, अहिले रोजेर काम लिनुपरेको छ ।’

पोखराको सेती खोँचमा खसेकी २ वर्षीया बालिकालाई सकुशल उद्वार गर्ने कमल नेपाली, सर्वस्वदान गरेर अस्पताल बनाउने रेवतीरमण पौडेलको मूर्ति उनले निःशुल्क बनाए । व्यक्तिलाई प्रत्यक्ष हेरेरै उनले यी मूर्ति कुँदेका हुन् । समाजसेवी मैयादेवी श्रेष्ठ, पुराना कम्युनिष्ट नेता खम्बा सिंह कुँवरका मूर्ति बनाए । ‘जीवित व्यक्तिहरुका मूर्ति बनाउँदा गहिराईमा काम गर्न सजिलो हुदैन,’ उनले आफ्नो अनुभव सुनाए ।

दाङको शान्तीवनमा १७ फिट अग्लो बुद्ध, उदयपुरको ज्ञान विज्ञान कुञ्जमा १२ फिट अग्लो श्रमिक बुद्ध, पर्यटन बोर्डको जातीय संग्राहलय, सौराहा र मेघौलीका थारु संग्राहलयहरुमा उनले बनाएका मूर्तिहरु छन् । अन्र्तराष्ट्रिय विमानस्थको आगमन कक्ष नजिकैको गैडा, प्रस्थान कक्षतर्फ रुखमा बसेको रेण्ड पाण्डाहरुको मूर्ति पनि उनकै उत्पादन हुन् ।

बुटवलको फुलबारी पार्क, हेटौंडाको शहिद स्मारक, चितवनको ज्ञानेश्वर सामुदायिक वन, सोमेश्वरगढी लगायतका स्थानमा ठडिएका मूर्तिहरु उनैले बनाएका हुन् । रुकुम, रोल्पा, माडीमा शहिदका अर्धकदका शालिक, एमाले चितवन पार्टी कार्यालयमा रहेको मदन–आश्रितको अर्धकदको शालिक, माओवादी केन्द्र चितवनको पार्टी कार्यालयमा बच्चा बोकेर युद्धमा जाँदै गरेकी महिलाको पूर्णकदको शालिक उनकै योगदान हो ।

अधिकांश पार्क, निकुञ्ज, सामुदायिक वन, सार्वजनिक स्थानहरुमा गैडा, बाघ, भालु, हात्ती, जरायो, मृग, चरा लगायतका मूर्तिहरु बनाइसके । ‘लोपोन्मुख जनावर, जीवित मान्छेका मूर्ति बनाउँदा आनन्द आउँछ,’ उनी भन्छन्, ‘संग्राहालय, पार्क जस्ता देशका धेरै ठाउँमा मैले बनाएका मूर्तिहरु छन् । म आँफै टिकट काटेर जान्छु । मैले मूर्ति बनाएर हिसाब सकिए पनि हेर्न मन लाग्छ, त्यही मूर्ति देखाएर धेरैले जीविकोपार्जन गरेका छन्, रोजगारी पाएका छन् ।’

ललितकला क्याम्पसमा मूर्तिकला पढ्दै गरे पनि मध्यरातले ५० बढीलाई मूर्ति बनाउने सीप सिकाइसकेका छन् । २५ जनाजति त स्थापित मूर्तिकार नै बने । ‘गुरु मान्दा खुशी लाग्छ, अब पुस्तान्तरणको खाँचो छ,’ उनी भन्छन्, ‘नेपालमा बनेका मूर्ति निर्यातको वातावरण बनाउनुपर्छ ।’

उनले भारतबाट आउने तयारी मूर्तिले स्वदेशी मूर्तिकारहरु निकै समस्यामा परेको दुखेसो गरेका छन् । ‘मूर्ति बनाउने उत्कृष्ट काठ, ढुंगा, माटो नेपालमै छ, प्रविधिसहितका प्रशिक्षण दिन सके नयाँ पुस्ता आउँछन्,’ उनले भने, ‘पुस्तान्तरण भए उत्पादन बढाउन सकिन्छ ।’

अरनिकोले चीनमा गएर वास्तुकलामार्फत नेपाललाई चिनाएको बताउँदै उनले भने, ‘मूर्ति बनाउने परम्परागत शैली बदल्नुपर्छ, बजार पहिचान गर्दै पुस्तान्तरण गर्न राज्यले भूमिका खेल्नुपर्छ । हल्का र टिकाउ भएकाले अहिले फाइबरका मूर्तिको माग बढ्दो छ तर, कच्चा पदार्थमा परनिर्भरता छ, राज्यले अब सोच्नुपर्छ ।’