काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्टप्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ। डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आईएमई बैंकको यो नयाँ पहल हो। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलबध हुने बैंकले जनाएको छ।

बैंकले आफ्ना ग्राहकहरुलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको जनाएको हो।

यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आईएमई बैंक र नेपाल टेलिकमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकको बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमका प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन्।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।