काठमाडौँ – राजधानीमै सबैभन्दा बढी चहलपहल हुने न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ। दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि धकेलिएको थियो।

प्रवर्द्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका ३–४ वटा कवलमा पसलहरु सञ्चालन भइसकेका छन्। अन्य कवल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघअन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्सका केही कवल खरिद तथा भाडाको लागि उपलब्ध रहेको उनले जानकारी दिए। उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ। कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय सुरु गरिसकेको तथा सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

‘यसले देशकै मुटु राजधानी, राजधानीको पनि मुटु न्युरोडमा आफ्नो प्रोपर्टी होस् भन्ने चाहना राख्नेहरुको इच्छा पूरा गर्छ’, महर्जनले भने, ‘विदेशमा रहेका कतिपय नेपालीले त्यही चाहना पूरा गर्न यो कम्प्लेक्समा स्पेस खरिद गर्नुभएको छ।’

व्यवसाय सञ्चालनको हिसाबले उक्त कम्प्लेक्स सहरकै सबैभन्दा अब्बल ठाउँमा रहेको उनले दावी गरे। ‘काठमाडौंमा सबैभन्दा बढी भीडभाड हुने ठाउँ भनेकै असन, इन्द्रचोक, न्युरोड नै हो’, महर्जनले भने, ‘महर्जन कम्प्लेक्स त्यही ठाउँमा छ, जहाँ सबै तह र तप्काका नागरिक पुग्छन्। यहाँ गरेको लगानी तीन वर्षमा उठ्ने अनुमान गरेका छौं।’

कम्प्लेक्समा पाँच दर्जन पसल कवल छन्। महर्जनका अनुसार कम्प्लेक्सको बाहिरी स्वरूप सम्पदामैत्री र भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ। कम्प्लेक्सको बीच भागमा खुला ठाउँ छाडिएको छ। जहाँ पुग्दा काठमाडौँको परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुने महर्जन बताउँछन्। भवनको सुन्दरता र सुरक्षामा कुनै सम्झौता नगरिएको महर्जनको भनाइ छ।