९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न बिहीबार आज फुलकोर्ट बैठक बस्दै छ।

गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले आज बस्ने फुलकोर्ट बैठकले निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ । सम्भवत बैकले आगामी बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आएका थिए । तर गत बिहीबारको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको थियो ।

जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायायाधीशहरु र कानून व्यवसायीहरु उनीविरुद्ध उत्रिएका थिए । गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किए पनि जबराको नेतृत्व भने नस्वीकार्ने बताइसकेका छन् ।

तर आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनले जबराको राजीनामालाई बटमलाइन बनाएर विरोधका कार्यक्रम जारी राखेको छ । इजलास बहिस्कार गर्दै आएको नेपाल बारले बुधबार सबै १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा विरोध प्रदर्शन र सभा गरेको छ ।

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसीएसनले जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।