काठमाडौँ– बाल्यकालदेखि नशाको गम्भीर ट्युमर रोगसँग लड्दै आएकी कुमारी निरौलाले सहयोगको अपिल गरेकी छन्। पाँचथर आँमचोककी २५ वर्षीया निरौलाले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेकी हुन्।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर निरौलाले बढ्दै गइरहेको ट्युमरको दोस्रो पटक शल्यक्रिया गर्नको लागि १० लाख लाग्ने भएकोले सहयोग गर्न अपिल गरिन्। उनको हाल त्रि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

कार्यक्रममा बोल्दै निरौलाले यसअघि पनि शल्यक्रिया भइसकेको हुनाले अब दोस्रो पटक हुन लागेको शल्यक्रियाको लागि आफूसँग एक रुपैयाँ नभएको बताइन्। उनले भनिन्,‘मेरो आर्थिक अवस्था कमजोर छ। मलाई सपोर्ट गर्नुहोस्।’

उनले लामो समयदेखि उपचार गर्दै आएकोले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदै गएको बताइन्। उनले पर्याप्त रकम अभावको कारण उपचारमा अत्यन्तै कठिनाइ भएको सुनाइन्।

‘जन्मजात मेरो गालाको दाग बढ्दै गयो। नशाको ट्युमरको रुपमा विकास भएको दागको उपचारका क्रममा काठमाडौँ आएकी छु। परिवारको आर्थिक अवस्था कमजोर छ। त्यसैले ठूलो खर्च लाग्ने ट्युमरको उपचार गर्न नसक्ने अवस्थाकी छु,’ निरौलाले भनिन्।

‘एकैचोटी मात्र नभएर धेरै पटक अपरेसन गर्न पर्ने भएको छ, तर मसँग पर्याप्त रकम छैन,’ उनले तत्कालै उपचार गर्न खर्च नभएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गर्दै निरौलाले भनिन्,‘तपाईहरु सबैले मलाई आर्थिक सहयोग गरेर नयाँ जीवन दिनुहोस्, मेरो उपचार गर्न पाएँभने यहाँहरुसँग म फेरि आउनेछु। मलाई माया गरिदिनुहोस,सर्पोट गरिदिनुहोस्।’

उनको जन्मजात नै कोठी आएको थियो। पछि कोठी बढ्दै गएर नशाको ट्युमर भएपछि आफूलाई निकै गाह्रो भएको बताइन्। उनी हाल आश्रय लिएर आफन्तकोमा इलाममा बस्दै आएकी छिन्।

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता सविना बरालले उनका आमा, बुवा दुवै जना अशक्त रहेको जानकारी दिइन्। उनका एक भाइ छन्। भाइ पनि मानसिक रागी भएको उनले बताइन्।

उनले आर्थिक अवस्था अत्यन्त्यै कमजोर भएकी बिरामी निरौलाको उपचारको लागि देश तथा विदेशमा रहेका सबै दाजुभाई दिदी बहिनीहरुलाई सहयोग गर्न आग्रह गरिन्।

उनले भनिन्,‘निरौलाको तत्कालै उपचार गर्न पर्ने अवस्था छ, डाक्टरहरुले १० लाख रुपयाँ लाग्ने बताइरहनुभएको छ। तर उहाँसँग एक पैसा पनि छैन। उहाँका भाइ पनि मानसिक रोगी छन्। बुवाआमा अशक्त हुनुहुन्छ। उनलाई सहयोग गर्ने कोही छैन।’

कार्यक्रममा निरौलाले आफूलाई सहयोग गर्नको लागि ९८४९७५४०७१ मा सम्पर्क गर्न पनि आग्रह गरेकी छन्। त्यस्तै, उनले सहयोगको लागि नेपाल एसबीआई बैंक मधुमल्ला शाखा झापामा रहेको खाता नम्बर २५०१५२४३४००१३७ पनि दिएकी छन्।