झापा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथमा हिँडेका झापाका व्यवसायी दुर्गा प्रसाईं नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन्।

झापाको बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक प्रसाईं एमालेको १० औं महाधिवेशन प्रतिनिधिमा मनोनित भएका हुन्।

पार्टीको स्थायी कमिटी बैठकले १०६ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनित गर्दा प्रसाईं पनि परेका हुन्। प्रसाईंसहित झापाका ६ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनित गरिएको हो।

झापाबाट महाधिवेशन प्रतिनिधि मनोनित हुनेहरुमा नेपाली कांग्रेस छाडेर केही महिना अघि एमाले प्रवेश गरेका अमृतलाल राजवंशी, जुरोपानीका अम्बर शिवाकोटी, गौरादहकी जलवर्षा राजवंशी र दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारी पनि रहेका छन्।