काठमाडौँ– कोरोना महामारीका कारणले रोकिएको जुत्ता मेला करिब दुई वर्षपछि कार्तिक २६ गतेबाट काठमाडौँस्थित भृकुटीमण्डपमा सुरु भयो। सुरु भएको १३ औँ दिनसम्म जुत्ताको व्यापार राम्रो भइरहेको आयोजकले जनाएको छ।

फुटवेयर म्यानुफ्याक्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा रन शुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले कोभिडपछि फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन नेपालले करिब २ वर्षपछि गरेको पहिलो मेला उत्साहजन रहेको बताए।

‘एक दिनमा ७/८ हजार ग्राहक आउने र ५/७ हजार जुत्ता बिक्री वितरण भइरहेको छ’, उपाध्यक्ष न्यौपानेले उनले भने।

जुत्ता मेलामा नेपालका करिब ३० वटा जुत्ता उत्पादक कम्पनीका करिब ६० स्टल रहेका छन्। ती कम्पनीका करिब ३ हजारभन्दा बढी डिजाइनका जुत्ता चप्पल रहेको उनले जानकारी दिए।

रुद्र न्यौपाने।

मेलामा महिला, बालबालिका, युवा तथा वृद्धहरुका लागि जुत्ता–चप्पल रहेका छन्। ग्राहकले छानी–छानी आफूलाई मन पनरेका जुत्ता तथा चप्पल खरिद गर्न सक्नेछन्।

कार्तिक २६ देखि सुरु भइ मंसिर १९ सम्म चल्ने जुत्ता मेलामा व्यापार सन्तोषजनक रहेको शिखर शुजका सेल्स म्यानेजर राजु उप्रेतीले बताए।

उनले मेलामा आफूहरुले पार्टी शुज, क्याजुअल शुज, स्पोर्टस् शुज, स्कुल शुज, पिउ कन्भर्स, मुकासी, आर्मी, पुलीसले लगाउने डिएन शुज लगायतका सबै मोडल राखेको बताए। शिखर शुजले उक्त मोडलका जुत्ताहरुमा १५ देखि ७० प्रतिशतसम्म छुट दिएको पनि उनले जानकारी दिए।

‘नयाँ सामान १५ प्रतिशत छुटमा दिएका छौँ’, उनले भने, ‘ र छ महिनाको वारेन्टी दिएर बेचेका छौँ। अन्य प्रडक्ड हेरेर ७० प्रतिशतसम्म पनि छुट दिएका छौँ।’

उनका अनुसार मेला जुत्ता उत्पादन कम्पनीका लागि निकै फाइदाजनक रहेको छ। उनले भने, ‘यसरी मेला आयोजना गर्दा जुत्ता उत्पादन कम्पनी र ग्राहकहरुबीच सिधा सम्पर्क हुने भयो। जसले गर्दा कम्पनीले सिधै ग्राहकहरुको प्रतिक्रिया लिइरहेको छ।’

ग्राहकसँग सोझो सम्पर्क हुँदा ग्राहकका रुचीका बारेमा जानकारी पाउनुका साथै बजारमा कस्तो जुत्ताको माग रहेछ भन्ने पनि जानकारी हुने उनले बताए।

राजु उप्रेती।

‘बजारमा कस्तो जुत्ता बिक्छ। कुन वर्गका ग्राहकले कस्तो मोडलको जुत्ता मन पराउनु हुन्छ। अहिलेको फेशन के छ, यो सबै कुराको आरएनडी गर्ने मौका भएको छ’, उनले भने।

शिखर शुज पुरानो ब्राण्ड हो। तर पनि ‘प्रमोशन’ का लागि पनि यस्ता मेला उपलब्धीमूलक हुने उनको भनाइ छ। ‘मेलाले ब्राण्डिङमा पनि निकै टेवा पुगेको छ’, उनले भने।

सौजन उपाध्याय

आफूहरुले मेलामा स्टक प्रडक्टसँगै नयाँ प्रडक्ट पनि राखेको उनले बताए। ‘कोभिडका कारणले बजार केही डिस्टर्ब थियो। जसले गर्दा केही प्रडक्ट स्टक छ’, उनले भने, ‘तर हामीले छ महिनाको वारेन्टी दिएर नयाँ सामान पनि बेचिराखेका छौँ।’

यस्तै जुत्ता मेलामा सहभागी अर्का जुत्ता व्यवसायी बिएफ डियर हिलका निर्देशक सौजन उपाध्यायका अनुसार सबै वर्गलाई हुने स्पोर्टस् शुज मेलामा राखिएको छ।

अहिलेको मेलाबाट बिक्री वितरणभन्दा पनि आफ्नो ब्राण्ड ग्राहकमाझ चिनाउन टेवा पुर्‍याएको उनी बताउँछन्।

सौजन उपाध्याय।

‘अहिलेको मेला सेलमा बेच्नुभन्दा पनि आफ्नो ब्राण्ड चिनाउन र ग्राहकहरु माझ ब्राण्ड अवेयरनेशका लागि ल्याएका छौँ’, उनले भने। आफूहरुले १५ देखि ८० प्रतिशतसम्मको छुट दिएका उनले जानकारी दिए।

‘कोभिडका कारणले धेरै स्टक रहेको थियो। यस मेलामा धेरै डिस्काउन्ट दिएर स्टक किलियर गर्ने र नयाँ प्रडक्ट पनि ल्याएका छौँ’, उनले भने।

आफूहरुजस्ता जुत्ता उत्पादनक कम्पनीहरुका लागि सिधै ग्राहकसम्म पुग्ने पुलको काम यस मेलाले गरेको उनले बताए। उनले यस्ता मेलाहरु निकै लाभदायी हुने पनि बताए।

केही समयको अन्तरालमा यस किसिमका मेला भयो भने व्यापारसँगै ब्राण्डिङ पनि राम्रो हुने उनको भनाइ छ।

फुटवेयर म्यानुफ्याक्चर एशोसिएशनका उपाध्यक्ष रन शुजका प्रबन्ध निर्देशक न्यौपानेले कम्तिमा २० देखि ७० प्रतिशतसम्म छुट दिएको बताए।

मेलामा उपभोक्तासँग उत्पादकले प्रत्यक्ष अन्तर्क्रिया गर्न सक्ने भएकाले मेला फलदायी भएको उनले बताए।

यस्तै कोरोनाले रोजगारी गुमाएका व्यक्तिहरुका लागि मेला रोजगारको थलो भएको र अर्को पाटो हेर्दा आर्थिक क्रियाकलाप पनि चलायमान भएको उनले बताए।

उनले भने, ‘सधै मेला हुँदा पनि धेरै राम्रो नहुने, तर कम्तिमा ६ महिनामा १ चोटी यस्तो मेला भइदियो भने धेरै राम्रो हुन्छ।’

करिब दुई वर्षपछि भएको जुत्ता मेलाले बजारको स्थिति, ग्राहकको मागका बारेमा जानकारी लिने थलो पनि बनेको उनले बताए।

यस्तै रनको स्टोरमा सबै किसिमका फुडवेयर पाइने उनले बताए।

‘रन शुजले सिजनका, फेशनका हिसाबले सबै क्याटोगरीका जुत्ता बनाउँछ। रन शुजको लक्षित समूह भनेको युवावर्ग हो’, उनले भने।