८ मंसिर, चितवन (माडी) । साँझ छिप्पिदै जाँदा राममन्दिर अघिल्तिरको बत्ती झन्झन् चहकिलो हुन्छ । मन्दिरका लागि छुट्याइएको जग्गाको निकै परसम्म बत्तीको त्यही उज्यालो पुग्छ । मन्दिरमा अहिले त स्थानीय बासिन्दा पूजा गर्न पनि जान्छन् । उनीहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा आएर राममन्दिर स्थापना गरिदिएकोमा खुसी छन् ।

‘राम जन्मेकै ठाउँमा त्यतिखेर प्रधानमन्त्रीज्यूको पहलमा मन्दिर स्थापना भयो, पछि उहाँ आएर पनि यहाँको अवस्थाबारे बुझेर जानुभयो,’ मन्दिरमा विहान बेलुका पूजापाठ चलाउने स्थानीय कृष्णप्रसाद सुवेदी भन्छन्, ‘हामी त एकदमै खुसी छौं ।’

साँझ उसैगरी ढल्दै जान्छ, तर बत्ती उसैगरी बल्दैन । राममन्दिरको छिमेकमै रहेको चेपाङ वस्तीमा विस्तारै सन्नाटा बढ्दै जान्छ । ज्याला मजदुरीमा गएकाहरु घर फर्किएपछि एकै ठाउँमा गुजुल्टो पर्छन् । दाउराको आगोले जति उज्यालो दिन्छ, उनीहरु त्यसैमा भर पर्छन्, त्यसैले निर्वाह गर्छन् । राम मन्दिरको क्षेत्रफलको आयातन जति फराकिलो छ, चेपाङवस्तीको उति साँघुरो ।

निकुञ्ज आसपास बस्ने चेपाङहरुको पुस्तेनी दुःख उस्तै छ, पीडा घटेको छैन । यिनीहरुलाई खुसी पार्न आउने पनि कोही छैनन्, सपना देखाउनेहरु भने आइरन्छन् । सपना निमोठ्नेहरु पनि आउँछन् । बेलाबेलामा निकुञ्जका पदाधिकारी आएर दुःख दिन्छन् । बस्ती बसाएको ठाउँबाट उठेर जान उर्दी जारी गर्छन् ।

‘निकुञ्जका मान्छे आएर अब यहाँ बस्न पाउँदैनौं भन्छन्,’ ३१ वर्षकी सञ्जिता प्रजाले भनिन्, ‘कति ठाउँबाट लखेटी–लखेटी यहाँ आइयो, यहाँ पनि बस्न पाइन्छ कि पाइन्न केही थाहा छैन ।’ यी मान्छेहरु अनिश्चयको जिन्दगी बाँचिरहेका बेला माडीमा ‘भगवान्’को बसाइ भने निश्चित भएको छ । रामलाई न निकुञ्जका पदाधिकारी आएर उठाउँछन्, न अरु जंगली जनावरले दुःख दिन्छन् ।

सञ्जिता प्रजा

‘सरकारले स्थायी बसोबास मिलाइदिन्छु भनेर आश्वासन दिएको थियो, तर कहिले कता कहिले कता लखेट्यो,’ स्थानीय छवि चेपाङले भने, ‘राम मन्दिर बनाउन जति पनि जग्गा पाइने, हामी सुकम्बासीले बस्ने छाप्रोसम्म पनि नपाउने कारण के रहेछ ?’

राम मन्दिरको बाटो यताउता गर्दा छविको मनमा अक्सर यही भाव आउँछ । मूर्तिका लागि त्यतिधेरै ठाउँ छुट्याउँदा आफूहरुलाई मत दिएर जिताएका चेपाङलाई राज्यले कसरी बिर्सिन सक्छ भनेर उनी बारम्बार आफैंसँग सोध्छन्, तर जवाफ पाउँदैनन् । छवि जवाफ दिने ठाउँमा पनि छैनन् ।

‘राम मन्दिरलाई बजेट छुट्याउने, आम सुकुम्बासीलाई नछुट्याउने ?,’ छविले भने, ‘हामीलाई राज्य र पार्टीहरुले मान्छे मान्नुभएको छैन भने हाम्रा घर भत्काएर फालिदिनुस्, नत्र बसिरहन पाउने स्थायी बसोबासको प्रवन्ध गरिदिनुस् ।’

छवि चेपाङ

ओढारमै जन्मिएका छवि जन्मजात सुकुम्बासी हुन् । उनको अहिलेसम्म चार/पाँच पटकसम्म उठिबास लागिसकेको छ । बल्लबल्ल दुःखजिलो गरेर बसिरहेको ठाउँबाट कहिले निकुञ्जका पदाधिकारी आएर धकेल्छन्, कुनै ठेगान छैन ।

चितवन, धादिङ र मकवानपुरका ऐलानी जग्गामा बस्दै आएका चेपाङ र तामाङ समुदायका नागरिक बाढी पहिरोको चपेटामा परेपछि चितवनको कुसुमखोला झरे । तर कुसुमखोलाको उनीहरुको बसाइ कहिले निकुञ्जलाई संरक्षण गर्न बसेका आर्मी, कहिले जंगली जनावरको डरमा बित्यो । त्यसैले उनीहरु विस्तार विस्तारै वस्ती सार्दैै सार्दै निकुञ्ज छेउमा पुगेका हुन् ।

बस्न पो छेउमा आएका हुन्, भय त केन्द्र मै छ । बाढीको भय, जंगली जनावरको भय, जग्गा जमिन हुनेहरुको भय, नेताहरुको भय । त्यसमाथि सर्वहाराको पक्षमा छौं भन्ने ठूलो कम्युनिष्ट पार्टीमा देखिएको धार्मिक रुझान उनीहरुका लागि अर्काे भय बनेर थपिएको छ । आफैं बसिरहेको ठाउँमा मुलुकको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेले दशौं महाधिवेशन गर्दैगर्दा यो पार्टीले चेपाङ सम्झिएला कि राम भन्ने सवाल उनीहरुको मनमा छ ।

कमल चेपाङ

‘गएको चुनावमा हामीलाई नेताहरुले जित्ने बित्तिकै बस्नका लागि ५ कट्ठा र खेती गर्न ५ कट्ठा जमिन दिन्छौं भनेका थिए, हामीले भोट हालेका कम्युनिष्टकै सरकार बन्यो, तर हाम्रो घर बनेन,’ ३५ वर्षीय कमल चेपाङले भने, ‘यत्रो ठूलो कम्युनिष्ट पार्टी भएर के गर्ने ? हामी सुकुम्बासी र सर्वहारा बसेको ठाउँमा डोजर लगाए, आगो लगाए, राम मन्दिर बनाउन, पैसा र जमिन छुट्याए ।’

नेताहरुले जनताको भावनालाई भगवानसँग जोडे, मन्दिरको राजनीति गरे । एमालेले अहिले उसको महाधिवेशन चितवनमै गर्नुको पछाडि अरु थुप्रो कारणहरु पनि छन्, माडी एक कारण हो, राममन्दिर त्यसको सहउत्पादन हो ।

उनले लालपूर्जावाला जग्गा दिन्छौं भन्ने नेताहरुलाई भुल्न सकेका छैनन् । तर त्यो सम्झाइले पीडा बाहेक अर्थाेक दिँदैन । ‘चुनाव जिताउनासाथ स्थायी बास मिलाउछौं भन्नेहरुले चुनाव जितेपछि राम ठूलो भन्नुभयो,’ छविले भने, ‘उहाँहरुमा मानवीयता हुन्थ्यो भने चेपाङका कुरा गर्नुहुन्थ्यो होला ।’

तत्कालीन नेकपामा राम मन्दिरको चर्चा नै ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेका बेला शुरु भएको थियो । २९ असार २०७७ मा तत्कालीन प्रधानमन्त्री ओलीले राम नेपालमै जन्मेका हुन् भनेर उद्घोष गरेका थिए । शुरुमा उनले चितवनको ठोरी रामको जन्मभूमि रहेको बताए, त्यसपछि माडीको अयोध्यापुरीमा रामको जन्म भएको घोषणा गरे । गत वैशाख ८ गते रामनवमीको अवसर पारेर ओलीले काठमाडौंबाटै राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति पठाइदिए ।

सिद्धान्तः बाँचिरहेका मान्छेको पीडाले सबभन्दा पहिले कम्युनिष्ट पार्टीहरुलाई नै छुनुपर्ने हो । तर नेताहरुले जनताको भावनालाई भगवानसँग जोडे, मन्दिरको राजनीति गरे । एमालेले अहिले उसको महाधिवेशन चितवनमै गर्नुको पछाडि अरु थुप्रो कारणहरु पनि छन्, माडी एक कारण हो, राम मन्दिर त्यसको सहउत्पादन हो । राम मन्दिरका नाममा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा लडाइँ हुँदा चपेटामा पर्ने यिनै चेपाङ, यिनै सुकुम्बासी र यिनै भूमिहीन हुन् ।

मूर्तिहरु आउनेभएपछि माडी नगरपालिका रातारात मन्दिर बनाउनुपर्ने अवस्थामा पुग्यो, अप्ठ्यारोमा परेका नागरिकलाई पुनर्स्थापित गर्न त्यति असिनपसिन भएर काम गरेको न नगरपालिकाको रेकर्डमा छ, न स्थानीय सुकुम्बासी चेपाङको स्मरणमा ।

कात्तिक १६ गते ओली स्वयं माडी आएर आफैंले पठाएका मूर्तिहरुको दर्शन गरे । पार्टी रक्षाका लागि हनुमान बन्न कार्यकर्ताहरुलाई निर्देशन दिए । त्यसअघि कात्तिक १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि माडी आएका थिए र प्रपोगाण्डाका लागि मात्रै राम मन्दिर बनाउने घोषणा गरिएको दाबी गरेका थिए ।

नेकपा विभाजनको संघारमा पुगे यता नै माडी राजनीतिक नोहरुको दाउपेचमा समेत नछुट्ने नाम भइसकेको छ । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पछिल्लो दौडाहले पनि माडी खास हो, माडी विशेष हो भन्ने सन्देश दिइरहेको छ । तर दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्षबीचको छिनाझपटी जनताका नाममा छैन ।

पौराणिक कथाका पात्र रामलाई लिएर भइरहेको उनीहरुको विवाद–बहसले माडीको किनारमा, चितवन राष्ट्रिय निकुञ्जको छेउमा बसेर राज्यबाट अपेक्षा गरिरहेका सुकुम्बासी र चेपाङ समुदायलाई भने उद्वेलित बनाएको छ । ‘खोलापारी बसेका थियौं, सरकारले डोजर लगाइदियो । त्यसपछि हामी यतै आएर बस्यौं, निमेक गरेर खाइरहेका छौं,’ भीममाया तामाङले भनिन्, ‘अहिले झुप्रो हालेर बसेका छौं, पोको पुन्तुरो यताउता हुँदा कचक्क छ । अब त जुन पार्टीले बस्ने बास पक्का बनाइदिन्छन्, तिनैलाई भोट हाल्ने हो । अहिलेसम्म त कांग्रेस, एमाले, माओवादी सबैले हामीलाई आशमात्रै देखाए ।’

भीममाया तामाङ

यस्तै सर्वहारा, सुकम्बासी, किसान र भूमिहीनहरुको पार्टी हुँ भन्ने एमालेले आफ्नो जीवनको दशौं महाधिवेशन चितवनमा गर्दैछ । उसले समाजवादलाई आफ्नो लक्ष्य मानेको पनि छ, समृद्धि र विकास पार्टीको नारा तय गरेको छ । एमालेको नेतृत्वले माडीलाई प्राथमिकतामा राखेको पनि छ । तर दशकौंदेखि एक पेट खानका लागि संघर्ष गरिरहेका भूमिहीन र सुकुम्बासीहरुको एजेण्डा मुलुकको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको प्राथमिकतमा पर्नुको साटो धर्मको राजनीति किन जबरजस्त स्थापित गर्न खोजिएको होला भन्ने पिर सुकुम्बासी र चेपाङ समुदायमा देखिन्छ ।

विष्णुहरि प्रजा

२९ वर्षका विष्णुहरि प्रजा बारम्बारमा यही प्रश्न आफैंलाई सोधिरहन्छन् । ‘निकुञ्जले कुसुमखोलाबाट निकालेपछि राम मन्दिर भएको ठाउँमा पनि बस्न मिल्छ कि भनेर हेरेका पनि थियौं, तर हामीलाई मिल्दैन भनेर टेक्न पनि दिएनन्,’ विष्णुहरिले भने, ‘उहाँहरु कम्युनिष्ट त भन्नुहुन्छ, तर किन कम्युनिष्ट भन्नुहुन्छ थाहा छैन ।’ पोहोर साउन ३ गते आर्मीले घरमा आगो लगाइदिएपछि विष्णुहरि सहितका १० घरपरिवार कुुसमखोलाबाट माडीकै वडा नम्बर ७ परौवी खोलामा सरेर आएका हुन् । यो बसाइ पनि कहिले उठ्छ ठेगान छैन ।

विष्णुहरिको घर जलेको करिब साता दिनमा माडी नगरपालिकाका पदाधिकारीलाई तत्कालीन प्रधानमन्त्री ओलीले माडीमा राम मन्दिर स्थापित गर्ने बारेमा परामर्श गर्न काठमाडौं बोलाएका थिए । माडीबाट ताँती लागेर काठमाडौं पुगेका नेताहरुले फर्किएपछि राम मन्दिर बनाउने जग्गा धमाधम खोज्न थाले । तर विष्णुहरिहरुका पीडालाई यसै दपन्याएर राखियो, उनीहरुका कुरा सुन्ने पनि कोही भएनन् । कुशुमखोलाबाट परौवी खोला सरेर आउँदा झन झन अपमानित भएको महसुस विष्णुहरिले गरेका छन् ।

‘उहाँहरुले हामीलाई भोटरका रुपमा मात्रै हेर्नुभएको छ । चेपाङहरुको पीडा कस्तो छ, कसैले पनि बुझेको छैन,’ विष्णुहरिले भने, ‘भोलि पनि उहाँहरु भोट माग्न आउने हामीसितै हो, रामले त उहाँहरुलाई भोट हाल्दैनन होला नि !’

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर