मोरङ – प्रदेश १ को कांग्रेस अधिवेशन मंसिर १६ गते विराटनगरमा गरिने भएको छ।

विराटनगर प्रदेशसभा भवनस्थित कांग्रेसको संसदीय दलको भवनमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा अधिवेशन विराटनगर महानगरपालिका–२ स्थित शंकरपुरमा हुनेछ।

अधिवेशन प्रचारप्रसार समितिका अनुसार अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने तय भएको छ। समितिका अध्यक्ष राजीव कोइरालाले अधिवेशनमा प्रदेशभरका करिब १ हजार ७ सय प्रतिनिधिको सहभागिता रहने जानकारी दिए।

अधिवेशनमा प्रदेश १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, प्रदेश अधिवेशन प्रतिनिधि, प्रदेशका केन्द्रीय सदस्य र भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि सहभागी हुनेछन्। दुईदिने अधिवेशनले प्रदेश १ को नयाँ कार्यसमिति चयन गर्नेछ।