सरकारले पोल भाडा दरको बारेमा अध्ययन तथा सिफारिस गर्न गठन गरेको समितिले आज सेवा प्रदायकहरुका छाता संगठनहरुसँग पोल भाडा विवाद र समस्या समाधानका उपायहरु बारेमा छलफल गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता विनोद प्रकाश सिंहको संयोजकत्वमा गठित समितिले आज सरोकारबालाहरु सबैलाई राखेर छलफल गरेको हो।

सो बैठकमा पोल भाडा र तार काट्ने कार्य नेपाल विद्युत प्राधिकरणले एकतर्फीरुपमा गरेको कामकारबाहीको बारेमा छलफल भएको बताईएको छ।

इन्टरनेट सेवा प्रदायकहरु तथा केबुल टिभी सेवा प्रदायकहरुले स्वघोषणा गरेर विद्युत प्राधिकरणको खातामा रकम जम्मा गरेको विषयलाई मान्यता दिनुपर्ने माग गरिएको सेवा प्रदायकहरु मध्येका एक सहभागीले जानकारी दिए।

उनकाअनुसार सबै सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको बितरण केन्द्रमा बिबरणहरु बुझाईसकेको तर प्राधिकरणले तार काटिदिने चेतावनी दिईरहनु उचित नभएको गुनासो गरिएको थियो।

यसअघि मन्त्रालयले असोज १७ गते सहसचिव सिंहको संयोजकत्वमा अध्ययन समिति गठन गरेर यहि मंसिर १५ गतेभित्र सुझाब पेश गर्न भनेको छ।

सो समितिले पहिलो पटक सरोकारबालाहरुलाई छलफलमा बोलाएको हो।

The post पोल भाडा बारे अध्ययन समितिद्धारा सरोकारबालाहरुसँग पहिलोपटक छलफल appeared first on Technology Khabar.