नेपालगञ्ज – बाँकेको क्षेत्र नं. ३ मा लक्की खाँ निर्विरोध क्षेत्रीय सभापति चयन भएका छन्। संस्थापन समूहका खाँविरुद्ध कसैले पनि पनि उम्मेदवारी नदिएपछि खाँ निर्विरोध क्षेत्रीय सभापति भएका हुन्।

संस्थापनइतर समूहले क्षेत्रीय सभापतिमा उम्मेदवार उठाउने कोसिस गरे पनि अन्तिममा कसैलाई पनि अघि सारेको थिएन। खजुरा गाउँपालिकाका सभापति रमेश सिजालीले अर्को व्यक्तिको उम्मेदवारी नपरेपछि खाँ निर्विरोध क्षेत्रीय सभापति भएको जानकारी दिए।

क्षेत्र नं. ३ बाट सभासद् आशा विक र पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ पनि निर्विरोध प्रतिनिधि चयन भएका छन्। विक दलित महिला र श्रेष्ठ जनजातिबाट निर्विरोध प्रतिनिधि भएका हुन्।

क्षेत्र नं. ३ मा अरु पदमा भने चुनावी प्रतिस्पर्धा हुने भएको छ। जिल्लाका अन्य दुई क्षेत्रमा संस्थापन र संस्थापनइतर समूहको प्यानलगत उम्मेदवारी परेको छ। संस्थापन र संस्थापनइतर पक्षले प्यानल नै बनाएर आ–आफ्ना उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।

बाँके क्षेत्र नं. १ मा संस्थापनबाट माधवराम खत्री र संस्थापन इतरबाट पोषण केसीले सभापतिमा उम्मेदवारी दिएका छन्। ६ सय बढी मतदाता रहेको क्षेत्र नं. १ मा क्रियाशील सदस्यताको लामो विवाद थियो।

संस्थापन पक्षका उम्मेदवार खत्रीले तेस्रो कार्यकालका लागि अगाडि आउँदा संस्थापन इतरका केसी आक्रमक ढंगले प्रस्तुत भएका छन्। क्षेत्र नं. १ मा संस्थापन र संस्थापनइतर समूह प्रतिष्ठाको लडाइँमा लागेका छन्।

क्षेत्र नं. २ मा संस्थापन समूहकै दुई प्यानलको चुनावी प्रतिस्पर्धा हुने भएको छ। संस्थापन समूहबाट वीरेन्द्रबहादुर शाह र रमेश गुप्ताले क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन्। दुवै संस्थापन पक्षका रहेकाले मतदातालाई आफूतिर तान्न जिल्लाका नेता लागिपरेका छन्। संस्थापनइतरको उम्मेदवार नरहेकाले शाहलाई मत दिने तयारीमा छन्।

बाँकेमा यसपालि संस्थापन पक्षले च्यापेर अगाडि बढेको छ। साम, दाम, दण्ड, भेद सबै उपाय अपनाएर मतदातालाई प्रभावित पारेको असन्तुष्ट नेताहरू बताउँछन्। सुशील कोइरालाको गृहजिल्लामा अहिलेको निर्वाचनमा कोइराला पक्ष कमजोर बन्दै गएको देखिएको छ।

जिल्लाका आठ वटा पालिकामध्ये कोइराला पक्षले तीन वटामा मात्रै जितेको छ। संस्थापन पक्षले पाँच वटा पालिकामा जित निकालेको छ।
अहिलेको मतदाताको अवस्थालाई हेर्दा लामो समयदेखि कोइरालाको विरासत रहेको बाँके देउवा पक्षले उछिट्याउने अवस्था देखिएको छ।