२००६ सालमा तत्कालीन जहानियाँ राणा शासनको अन्त्य र समतामुलक समाज निर्माणको उद्देश्य लिएर पुष्पलाल श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठनसँगै नेपालमा औपचारिक रूपमा कम्युनिष्ट पार्टीको स्थापना भयो । ७२ वर्षको अवधिमा आएका अनेकौं उतारचढावसँगै अहिले एक दर्जनभन्दा बढी कम्युनिष्ट पार्टीहरू अस्तित्वमा रहेका छन् । तिनीहरूमा पनि टुटफुटको श्रृंखला जारी छ ।

नेपालको वामपन्थी आन्दोलन अनगिन्ती पटक छिन्नभिन्न भएको छ । कहिले वैचारिक मुद्दामा त कहिले कुर्सीको लडाइँ र नेताहरूको आत्मकेन्द्रित व्यवहारका कारण फुटका अनेकौं चरणबाट कम्युनिष्ट आन्दोलन गुज्रिनुपर्‍यो । यसले गर्दा श्रमजिवी र सर्वहाराको जिवनस्तर उकास्ने, न्यायपूर्ण र प्रगतिशील समाज निर्माणको अभियान पटक-पटक असफल भएको छ । नेपालमा वामपन्थी आन्दोलनलाई जनताले अनवरत साथ दिए पनि नेतृत्वको कमजोरीले गर्दा यस आन्दोलनले आशातित सफलता हासिल गर्न नसकेको भन्नुमा कुनै पूर्वाग्रह नहोला ।

नेपालका बहुसंख्यक श्रमजिवी वर्ग, किसान, मजदुर, विद्यार्थी, बुद्धिजीवी वर्ग र आम जनताले ‘सुखी र समृद्ध नेपाल’ को कल्पना गर्दै २०७४ सालको आम निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जनादेश सुम्पिएका थिए । तर, अफसोस, संयुक्त पार्टीको शीर्ष नेतृत्वमा श्रृजना भएको बेमौसमी शक्तिसंघर्ष, अस्वस्थ प्रतिस्पर्धा र व्यक्तिगत मनमुटावले कलहको रूप लिँदै पार्टी विखण्डन हुन पुग्यो । यसले जनताको भरोसामा कुठाराघात भएको र नेपालको कम्यूनिष्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको कुरामा कसैको दुईमत नहोला ।

लामो इतिहास बोकेको मुलधारको कम्युनिष्ट पार्टीको विघटनले जनजीवनका विभिन्न आयामहरूमा नकारात्मक सन्देश प्रवाह गरेको छ । तसर्थ, संघारमा रहेको नेकपा एमालेको दशौं महाधिवेशनलाई प्रगतिशील र वामपन्थी विचारधारा राख्नेले मात्रै होइन, सम्पूर्ण नेपाली जनताले अत्यन्तै चासोपूर्वक हेरिरहेका छन् ।

भनाइ छ कि ‘मुखबाट निस्केको बोली र बन्दुकको नालबाट निस्केको गोली कहिल्यै फिर्ता हुँदैन’ । तसर्थ कहिलेकाहीँ नियत ठीक हुँदाहुँदै पनि आवेशमा आएर प्रयोग गरिने शब्द र विचारले पुर्‍याउने क्षतिलाई सामान्य आँकलन गर्न हुँदैन । आफ्नो संवेदनालाई नियन्त्रण गर्न नसक्ने र आवेशमा आएर जथाभावी बोल्ने नेताहरूलाई अगाडि बढाइयो भने पार्टीभित्र अर्को विग्रह नआउला भन्न सकिन्न ।

राष्ट्रिय महाधिवेशनले कुनै पनि राजनीतिक पार्टीको आन्तरिक र वाह्य जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले पार्टीमा विद्यमान राम्रा पक्ष र कमी-कमजोरीको उजागर गर्ने मात्रै होइन, पार्टीले अब उप्रान्त लिने दुरगामी प्रभावका निती र विचारको पनि निर्देश गर्ने गर्छ । यसका अलावा महाधिवेशनले कुशल र दुरदर्शी नेतृत्व चयन गर्ने दायित्व पनि बोकेको हुन्छ, जुन नेतृत्वले निश्चित अवधिको निम्ति पार्टीको बागडोर सम्हाल्छ ।

यसपटक देशभित्र र बाहिर गरी करिब दुई हजार प्रतिनिधिहरू महाधिवेशनका निम्ति चयन भएका छन् । आन्तरिक द्वन्द्व र विखण्डनबाट गुज्रिरहेको नेकपा एमालेको दशौं महाधिवेशनलाई सफल बनाउने र पार्टीलाई अबको एक वर्षमा हुने आम निर्वाचनमा आत्मविश्वासपूर्वक लैजाने जिम्मेवारी महाधिवेशन प्रतिनिधिहरूमा छ । तसर्थ प्रतिनिधिहरूले भावी नेतृत्व चयन गर्दा गुट, उपगुट र व्यक्तिगत स्वार्थमा आधारित भएर होइन, नेतृत्वको सर्वमान्य, वैज्ञानिक आचरण र मानकलाई अवलम्बन गर्नसक्ने दस्ता चुनेर पठाउन सक्नुपर्छ ।

विश्वविख्यात नेतृत्व विकास र व्यवस्थापनका गुरु मानिएका अमेरिकी प्राध्यापक डेनियल गोलम्यानले लगभग २५ वर्षअघि प्रतिपादन गरेको ‘भावनात्मक वौद्धिकता’ (Emotional Intelligence) सिद्धान्तमा आधारित पाँचवटा मुख्य खम्बाहरूद्वारा निर्देशित नेतृत्वमा रहनुपर्ने गुण र सीपलाई विगत केही दशकदेखि संसारभरका सबैखाले नेतृत्वको तप्काले नेतृत्वको न्यूनतम योग्यताको रूपमा पालना गरेको देखिन्छ । तसर्थ महाधिवेशन प्रतिनिधिहरूले पनि प्राध्यापक गोलम्यानका निम्न पाँच नेतृत्वमा आवश्यक न्यूनतम गुणका आधारमा नेतृत्व दस्ता चयन गरेमा आगामी नेतृत्वले पार्टी देश र जनतालाई सकारात्मक प्रभाव पार्ने युगान्तकारी नतिजा दिन सक्छ ।

१. आत्मजागरण (Self–Awareness): आत्मजागरण अन्तरगत प्रस्तावित नेतृत्वले निर्ममरूपले आफ्नो यथार्थपरक मुल्याङ्कन गर्ने र त्यसबाट आफ्नो क्षमता तथा कमि–कमजोरी दुवै थाहा पाउनसक्ने खालको हुनुपर्छ । आफ्नो क्षमतालाई पार्टी र देश निर्माणमा आत्मविश्वासका साथ लगाउन सक्ने र आफ्ना कमजोरीहरू सहकर्मी र जनतासामु इमान्दारीका साथ राख्ने र आफू कमजोर भएको क्षेत्रमा अन्य सक्षम सहयोद्धालाई प्रोत्साहन गर्ने नेतृत्व आजको आवश्यकता हो ।

आफ्ना कार्यकर्ताको बीचमा मात्रै नभइ विपक्षी दलका नेताहरू, विपक्षी दलका कार्यकर्ता तथा आम जनतामाझ घुलमिल भइ सबैमाझ सकारात्मक भावना र चिन्तनको श्रृजना गर्ने नेतृत्व आजको आवश्यकता हो । आफ्नो कार्यक्रम र योजना कार्यान्वयन गर्न सबैखाले विशेषज्ञ र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने वातावरण बनाउन सक्ने नेतृत्व महाधिवेशनले चुन्न सक्नुपर्छ ।

२. आत्मनियमन (Self–Regulation) : आत्मनियमनको अभ्यासले नेतृत्वलाई कसरी मानवीय संवेदनाका कारण उत्पन्न हुने भावनात्मक रूपमा विनासकारी व्यवहारहरूलार्ई कावुमा लिने, कसरी प्रचलित नियम, अनुशासनको परिधीभित्र रहने भन्ने कुरामा दृढ बनाउँछ । जसले नेताहरूलाई अनैतिक भ्रष्टाचार र घृणाजन्य व्यवहारबाट टाढा राख्न मद्दत गर्दछ । यसका अलावा आत्मनियमनको अभ्यासले आफ्ना सहयोद्धा सहकर्मी तथा फरक बिचार राख्नेहरूप्रति तुच्छ बोलीको प्रयोग नगरी सद्भाव र सम्मानपूर्ण सम्बन्ध स्थापित गर्नको निम्ति सहयोग पुर्‍याउँछ ।

भनाइ छ कि ‘मुखबाट निस्केको बोली र बन्दुकको नालबाट निस्केको गोली कहिल्यै फिर्ता हुँदैन’ । तसर्थ कहिलेकाहीँ नियत ठीक हुँदाहुँदै पनि आवेशमा आएर प्रयोग गरिने शब्द र विचारले पुर्‍याउने क्षतिलाई सामान्य आँकलन गर्न हुँदैन । आफ्नो संवेदनालाई नियन्त्रण गर्न नसक्ने र आवेशमा आएर जथाभावी बोल्ने नेताहरूलाई अगाडि बढाइयो भने पार्टीभित्र अर्को विग्रह नआउला भन्न सकिन्न ।

३. समानुभुति (Empathy) : यसले नेतृत्वलाई आफूलाई पनि कार्यकर्ता र जनताको ठाउँमा राखेर उनीहरूले पार्टी र देशका बारेमा के सोच्छन्, कस्तो भावना राख्छन्, त्यसैअनुसार कार्य गर्नको निम्ति प्रेरित गर्छ । आफू जति प्रभावशाली नेता भए पनि नेतृत्वले कार्यकर्ता, सहकर्मी, सहयोद्धा र आम जनताको भावना र संवेदनासँग घुलमेल भइ आफूहरूलाई पनि उनीहरूकै ठाउँमा उभ्याउन सक्ने हुनुपर्छ । यसो गर्न सकियो भने मात्रै महाकवि देवकोटाको ‘यात्री’ कविताको अंश ‘फर्क फर्क हे जाउ समाउ मानिसका पाउ, मल्हम लगाउ आर्तहरूका चहर्‍याइरहेका घाउ’ मा भनेजस्तै जनताको सेवक बन्न सकिन्छ ।

४. उत्प्रेरणा (Motivation): कुनै पनि आन्दोलन वा सामाजिक अभियान सफल हुनको निम्ति लाखौं जनताको सहभागिताको खाँचो हुन्छ । जनता त्यो आन्दोलनमा तबमात्रै सहभागी हुन्छन् जब उनीहरू त्यो आन्दोलनले प्राप्त गर्न खोजेको लक्ष्यप्रति विश्वस्त हुन्छन् । त्यसैले समाज र समग्र देशकै काँचुली फेर्न भनेर हिँडेको नेतृत्वले आफ्ना उदेश्यप्रति जनतासामु दृढ विश्वास प्रस्तुत गर्दै, जनतालाई हौसला दिँदै आफ्नो अभियानमा सामेल गराउन सफल हुन सक्नुपर्छ ।

आवश्यक परेको बेलामा विशेष क्षमता प्रस्तुत गर्दै धरातलीय यथार्थलाई सुहाउने योजनाहरू जनतासामु ल्याउने ल्याकत राख्नुपर्छ । नेतृत्वले दुरदर्शी भावनाका साथ जनतासामु दीर्घकालीन सपना देखाउने र त्यो सपनाको प्राप्तिको लागि आवश्यक योजना र कार्यक्रम पनि जनतासामु पारदर्शी तरिकाले राख्नुपर्छ । जो पटक-पटक पार्टीको आन्तरिक चुनाव र राष्ट्रिय निर्वाचनहरूमा पराजित भएका छन्, त्यस्ता व्यक्तिहरूले नेतृत्वको दाबी गर्नु पहिले अगाडिका पटक-पटकको हारबाट आफूले के सिकियो र आफ्नो आत्मविश्वास जनतासामु कसरी प्रस्तुत गर्ने र जनतालाई कसरी उत्प्रेरित गर्ने गहन चिन्तन गर्न जरुरी छ ।

५. सामाजिक सीप (Social Skills): कुनै पनि ठूला र दीर्घकालीन महत्व राख्ने योजनाहरू एकजनाको क्षमताले मात्रै नभएर समग्रमा समाजका सबै तह र तप्काका मानिसहरूको सहभागिताबाट मात्रै सम्भव हुने गर्दछ । नेतृत्वले म सर्वज्ञानी अरु सबै अज्ञानी भन्ने भावना राखेर अगाडि बढ्दा त्यसले सामाजिक विग्रह मात्रै होइन, समग्र अभियानलाई नै पछाडि धकेल्ने गर्छ ।

आफ्ना कार्यकर्ताको बीचमा मात्रै नभइ विपक्षी दलका नेताहरू, विपक्षी दलका कार्यकर्ता तथा आम जनतामाझ घुलमिल भइ सबैमाझ सकारात्मक भावना र चिन्तनको श्रृजना गर्ने नेतृत्व आजको आवश्यकता हो । आफ्नो कार्यक्रम र योजना कार्यान्वयन गर्न सबैखाले विशेषज्ञ र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने वातावरण बनाउन सक्ने नेतृत्व महाधिवेशनले चुन्न सक्नुपर्छ ।

अन्तिममा बेलायतका चर्चित पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको प्रसिद्ध भनाइ ‘राजनीति भनेको कुनै खेल होइन, यो त अन्यन्तै संवेदनशील अभियान हो’ लाई मनन गर्दै महाधिवेशन प्रतिनिधिहरूले उपयुक्त निर्णय लिन सक्नुभयो भने नेकपा एमाले अझ ऊर्जाशील र जनमुखी पार्टी बन्ने कुरामा विमत्ति नहोला । महाधिवेशनले सबल, सक्षम र दूरदर्शी नेतृत्व चयन गर्दै पार्टीलाई अझ माथि लैजान सफल रहोस् । शुभकामना ।