काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले ‘महान जनयुद्ध’ भनेर युवाहरुलाई ठगेको आरोप लगाएका छन् । माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै उनले कटाक्ष गरे ।

माओवादी अध्यक्ष प्रचण्डलाई लक्ष्यित गर्दै ओलीले उनका दुवै नातिनीहरुले बेलायतमा शिक्षा पाएकोमा आफूलाई खुशी लाग्ने बताए ।

ओलीले भने, ‘राम्रो कुरा हो, उहाँका दुवै छोरीका छोरीहरु बेलायतमा पढ्छन् । एकदम खुशीको कुरा हो । भरतपुरकी छोरीको पनि पढ्छिन् अर्कीको पनि । नातिनीहरुले राम्रो शिक्षा पाएका छन् खुशी लाग्छ ।’

उनले थपे, ‘तर सुखमय जिन्दगी तिनको मात्रै नबनोस । अरुका छोराछोरीलाई बर्बाद गरिदिने, उल्क्याएर देशलाई द्वन्द्वमा फसाइदिने । कत्तिका कोख रित्तिए ? कतिका सिउँदो पुछिए ? के यो ठिक हो ? ’