२०७१ सालमा काठमाडौंमा सम्पन्न एमाले महाधिवेशन पूर्वमहासचिव स्व.मदन भण्डारीको विचार र विशाल तस्वीर वरिपरि घुमेको थियो भने यो महाधिवेशन स्व.भण्डारीको हैन स्वयं केपी ओलीको जिउँदो–जाग्दो बडेमानको तस्वीर वरिपरि घुम्नेछ ।

२०७१ सालमा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी गृहमा सात्विक शैलीले आफ्नो नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले ८ वर्षपछि निकै ठूलो तामझाम र ठाँटका साथ तामसी शैलीमा दशौं महाधिवेशन चितवनको नारायणी नदी किनारमा गर्दैछ ।

‘हाइटेक’ भनिएको नवौं महाधिवेशन आफ्नै कार्यकर्ताहरूले पनि हेर्न पाएनन् । बन्द हलमा गरिएको उद्घाटन सत्र हेर्न नपाउँदा कार्यकर्ताहरू नाराबाजी र स्वागत गेट तोडफोडमै उत्रिए । सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न लाठीचार्ज समेत गरिएको दृश्यहरू अखबारका पानामा अझै सुरक्षित होलान् ।

उबेलाको हाइटेक महाधिवेशनको व्यवस्थापनमा फितलो देखिएको एमालेले आफ्नै सीमित कार्यकर्ताहरूको रहर पूरा गर्न पनि सकेन ।

नेकपा एमालेले नै गएको असोज दोस्रो साता विधान महाधिवेशन गर्दा तामझाम र नेतृत्वको देवत्वकरणमा यसअघिका सबै रेकर्ड तोड्न सफल भयो । चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनको झल्को दिने साजसज्जाका साथ सम्पन्न विधान महाधिवेशनले पार्टीका अध्यक्ष केपी ओलीको देवत्वकरणको नयाँ उचाइ हासिल गर्‍यो ।

यत्रतत्र सडक चोकका ल्याम्प पोष्टदेखि पानीका बोतलसम्ममा ओलीका तस्वीर सजाइए । साथै कार्यक्रमस्थलमा पनि ओलीकै प्रतिमा खडा गरेर उनलाई यस मर्त्यलोकको ‘नारायण’ नै बनाइदिए ।

स्वाभावैले विधान महाधिवेशन स्थलमा पार्टीका वैचारिक, राजनीतिक अनि कार्यक्रमिक विषयवस्तुहरूमाथि घनीभूत छलफल हुनुपर्दथ्यो । नेताहरूले वैचारिक रगडान गर्नुपर्दथ्यो । सिद्धान्त, विचार, नीति, कार्यक्रम अनि पार्टीको विधानको दफा–दफामा छलफल हुनुपर्दथ्यो । अहिलेका हाम्रा विद्यमान अन्तरविरोधबारे सघन बहस हुनुपर्दथ्यो ।

मुलुकको अहिलेको अवस्थाबारे यथार्थ चित्र आउनुपर्दथ्यो । मुलुकलाई कहाँ लैजाने ? भविष्यको खाका आउनुपर्दथ्यो । पार्टीमा कस्तो नीति र नेतृत्व निर्माण गर्ने ? भन्ने विषयमा घनीभूत बहस हुनुपर्दथ्यो । पार्टीको विधान कस्तो हुनुपर्छ ? विधानले अहिलेका जल्दाबल्दा समस्या समाधान गर्ने कस्तो खालको बाटो तय गर्नुपर्छ ? छलफल हुनुपर्दथ्यो ।

तर, कल्पनाशील यी सबै दृश्यहरू केवल कल्पनामै रहन गए । विधान महाधिवेशनस्थलको दृश्य कुम्भमेला झैं प्रतीत हुन्थ्यो ।

केही वैचारिक खुराक खोज्ने सानो संख्याका नेता–कार्यकर्ताहरू निराश मुद्रामा तमासा हेरिरहे झैं लाग्दथ्यो भने विधान महाधिवेशनस्थल जयजयकारको गुञ्जनले कोलाहलित थियो ।

धार्मिक मेलामा ‘राम’ हेर्न गएका भक्तजन झैं प्रतीत हुने नेता कार्यकर्ता झुन्डझुन्डमा गफिएका देखिन्थे भने एकथरी चैं कार्यक्रमस्थलमा बुख्याचा शैलीमा ठड्याइएको ‘बा’को बडेमानको प्रतिमा अगाडि फोटो खिच्नमै तल्लीन थिए ।

अनि सबैभन्दा रोचक र घोचक पक्ष चैं विधान महाधिवेशनमा बोल्ने वक्ताहरूले आफ्नै पार्टीका सहकर्मीहरूमाथि कटाक्ष प्रहार गर्दै उल्लाइरहेका देखिन्थे । सारमा भन्नुपर्दा ‘बा’को देवत्वकरणको संस्थागत शुरुआत गरेर एमालेको विधान महाधिवेशन सम्पन्न भयो ।

अहिले चितवनमा हुने दशौं महाधिवेशनले सम्भवतः त्यो ‘देउता’ निर्माणको अभियानलाई सगरमाथाको शिखरमै पुर्‍याउनेछ र त्यहींबाट सम्भवतः एमालेको ओरालोको यात्रा पनि आरम्भ हुनेछ ।

अहिले घोषित रूपमै दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले महाधिवेशनको चटारोमै छन् । यद्यपि यो प्रष्ट छ कि, यो चटारो लोकतन्त्रका लागि हैन, पार्टीको वैधानिकीकरणका लागि हो । फेरि पनि दुई तिहाइवाला पार्टीबाट चोइटिएर पुरानै नेकपा माओवादी केन्द्र बनेको जनयुद्धको एक घटकको आन्तरिक लोकतन्त्र उतिसारो बलियो छैन । माओवादी सहित कम्युनिष्ट नामधारी अन्य पार्टीहरूले आफूलाई आन्तरिक लोकतन्त्रको कसीमा खरो उतार्नै सकेका छैनन् । दशकौं एउटै व्यक्तिको निजी कम्पनी जसरी कम्युनिष्ट पार्टीहरू चलेका छन् ।

त्यस्तै राज्यको पुनर्संरचनाको मुद्दा र निर्माणमुखी वैकल्पिक राजनीतिको जगबाट उदाएको जनता समाजवादी पार्टी त झनै मौजूदा सत्ता–राजनीतिको कान्छो पार्टी हो, जुन आन्तरिक लोकतन्त्रको कसीमा परीक्षित नै छैन । सिद्धान्ततः प्रत्यक्ष लोकतन्त्रको वकालत गर्ने यो पार्टीले स्थानीय अधिवेशनहरू हुँदै महाधिवेशनसम्म आइपुग्दा कसरी आफूलाई वैधानिक रूपले स्थापित गर्छ ? त्यसैमा यसको आन्तरिक लोकतन्त्रको छविचित्र निहित हुनेछ ।

त्यसैले अहिले आसन्न नेकपा एमाले महाधिवेशनकै चर्चा गरौं । पार्टीहरूको महाधिवेशन उन्नत लोकतन्त्रको संस्थागतकरणका लागि हैन, नेतृत्वको अहम् व्यवस्थापनका लागि हुने गरेको छ । प्रश्न यति मात्र हो कि यस्ता भेलाहरूले लोकतन्त्रलाई बलियो बनाउनुपर्छ । लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्नुपर्छ ।

हुन त एमालेले बुटवल महाधिवेशनबाटै बहुपदीय सांगठनिक संरचना निर्माण गर्दै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वको चयन गरेको हो । त्यसै परिपाटी अनुरूप केन्द्रदेखि गाउ“ कमिटीसम्म नेतृत्व चयनको अभ्यास गरिरहेको छ । हालै सम्पन्न सबै स्थानीय तहहरूको वडा अधिवेशन तथा स्थानीय तहहरूको अधिवेशनमा त्यही प्रक्रिया अनुरूप नेतृत्व चयन भयो ।

तर, त्यो केवल प्रक्रियामै सीमित भयो । नेतृत्वको व्यवस्थापनकै हदमा खुम्चियो । स्थानीय पार्टी पंक्तिमा अधिवेशन हुँदा त्यहाँका स्थानीय समस्याबारे कुनै छलफल भएन । स्थानीय रूपमा देखापर्ने राष्ट्रिय महत्वका मुद्दाहरूमाथि कुनै बहस भएन । पार्टीको नीति, विचार र सिद्धान्तबारे त झनै छलफल हुने कुरै भएन । फगत सम्भावित व्यक्ति र तिनको समूहलाई टीका लगाएर पठाउने प्रक्रियामै दलको आन्तरिक लोकतन्त्रको अभ्यास सीमित भयो ।

२०६५ सालको आठौं बुटवल महाधिवेशनमा एमालेले सम्पूर्ण मुख्य राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई एकठाउ“मा जुटाएर सबैलाई आ–आफ्ना विचार र दृष्टिकोण राख्ने साझा मञ्च उपलब्ध गराएको थियो । त्यसयता २०७१ सालको नवौं महाधिवेशनमा एमालेले त्यसो गरेन । झन् विधान महाधिवेशनमा त अरू दलहरूको उपस्थिति नै थिएन । किनकि विधान महाधिवेशन एमालेको महत्वाकांक्षाको उच्च प्रदर्शन थियो । नेतृत्वको देवत्वकरण नै एक मात्र एजेण्डा झैं देखिन गयो ।

अधिवेशनमा दस्तावेज प्रस्तुत गर्दै अध्यक्ष ओलीले आफूलाई इतिहासकै सफल प्रधानमन्त्री र स्वप्नद्रष्टा राजनीतिज्ञ घोषित गरिदिए । अनि गएको तीन वर्ष अरूका कारणले आफूले सोचे जस्तो काम गर्न नसकेको जिकिरको फेहरिस्त प्रस्तुत गरे ।

दस्तावेजमा विचार, सिद्धान्त, दृष्टिकोणको प्रस्तुति भन्दा विपक्षीहरूलाई गाली अनि छुट्टिएर गएका आफ्नै सहकर्मीहरूको हुर्मत लिनुमै मज्जा मानेको देखियो । विगतमा नियमित ढंगले सम्पन्न विकास परियोजना तथा अन्य निर्माणका कामहरूको जस आफैंले लिने र सम्पन्न हुन नसकेका बग्रेल्ती अधुरा परियोजना तथा आवश्यकताको पहिचान बेगरै घोषित गरिएका आयोजनाहरूको असफलताको दोष अरूको टाउकोमा थुपार्ने प्रयत्न गरे ।

विचारणीय कुरा चैं के छ भने ओलीको सत्तामोह र अभिमानका कारण छिन्नभिन्न अवस्थामा पुगेको पार्टीको विधान महाधिवेशनमा कोही कसैले प्रश्न गर्ने हिम्मत गरेन । र, ६ हजार बढी प्रतिनिधि सम्मिलित तीन दिनको भेला केवल जयजयकार सभामै सीमित रह्यो । सम्भवतः त्यही दृश्यलाई अझ उँचाइमा पुर्‍याउने र पार्टीभित्र निर्विकल्प ओलीराज स्थापना गर्ने एकमात्र उद्देश्य यो महाधिवेशनको हुनेछ । महाधिवेशनका लागि शुभकामना दिन अन्य पार्टीहरूलाई दिइएको निम्तोमा गरिएको छनोटले पनि त्यही संकेत गरेको छ ।

चितवनमै महाधिवेशन गर्नुको जेसुकै कारण भए पनि राजनीतिक लाभ भने चितवनको माडीमा प्रस्तावित राममन्दिर नै हो । माक्र्सवाद–लेनिनवादबाट ‘रामवाद’ तिर सिफ्ट हुँदै गएको नेकपा एमाले अब आफ्नो नेतृत्वलाई नै ‘देउता’ बनाउने बाटोमा उद्यत छ ।

सम्भवतः २०७४ को चुनावी वाम गठबन्धनको सफलता र त्यसपछिको पार्टी एकताको ‘टनिक’ले बलशाली बनेका अध्यक्ष ओलीको आफू सर्वेसर्वा हुने हठ र महत्वाकांक्षाले अन्ततः दुई तिहाइ जनमत भएको पार्टी तीन चिरा पर्‍यो भने संघदेखि ६ वटै प्रदेशमा सरकार गुमाई प्रतिपक्षमा खुम्चिनुपर्‍यो ।

रमाइलो कुरा चैं यति हुँदाहुँदै पनि त्यो दम्भ र अभिमानमा किञ्चित कमी आएको छैन । हस्तिनापुरका सम्राट धृतराष्ट्रको सत्ता र पुत्रमोह अनि उनका ज्येष्ठ सुपुत्र दुर्योधनको हठ, अहंकार र अभिमानकै कारण सिर्जना भएको महाभारतको ‘धर्मयुद्ध’ भयो । सो युद्धमा कौरव सेनाको पक्षबाट युद्ध लड्ने सबै बलवान, शक्तिवान वीर योद्धाहरू अनि दुर्योधनकै ९९ भाइहरू मरेर सकिंदा पनि दुर्योधनको ‘अभिमान’मा कुनै कमी आएको थिएन ।

त्यस्तै अहिले नेकपा एमालेले एक व्यक्तिको ‘बा’ बन्ने अभिमानले विगत निर्वाचनमा प्राप्त गरेको जनमत र पार्टी छिन्नभिन्न हुँदा पनि उसको दम्भको आयतन झनै फराकिलो हुनु निःसन्देह पतनकै लक्षण हो । दम्भ, अहंकार र अभिमानले अन्ततः निम्त्याउने विनाशकै बाटो हो ।

सम्भवतः एमालेको यो उँचाइ नै सर्वाधिक अग्लो हो । गएको चुनावमा वाम गठबन्धनले प्राप्त गरेको जनमत सगरमाथाको उँचाइ हो भने निःसन्देह सगरमाथाको चुचुरोमा लामो समय बस्न सकिने कुरै हुँदैन । सगरमाथा चढेपछि ओर्लिनु त पर्छ नै । अब नेकपा एमाले सगरमाथाको चुचुरोबाट ओर्लिनुको विकल्प छैन ।

एमालेको बुटवल महाधिवेशन फगत ‘जबज’को रहस्यमयी ब्रह्माण्डमै सीमित हुन पुगेको थियो भने २०७१ सालको काठमाडौं महाधिवेशन पूर्वमहासचिव स्व.मदन भण्डारीको विशाल तस्वीर वरिपरि नै घुमेको थियो । अबको महाधिवेशनमा हुने उल्लेख्य परिवर्तन चाहिं त्यही तस्वीर हुनेछ । किनकि अब स्व.मदन भण्डारीको तस्वीर हैन, स्वयं खड्गप्रसाद ओलीको जिउँदो–जाग्दो बडेमानको तस्वीर ठडिनेछ ।

महाधिवेशन प्रचारका लागि भन्दै देशका मुख्य सडकका ल्याम्पपोस्टहरूमा तस्वीर झुण्डिन थालिसकेका छन् । अनि पार्टीको आन्तरिक व्यवस्थापनको अभ्यासमै सीमित यस पटकको महाधिवेशनमा पनि उपस्थित ठूलो जत्थाले त्यही बडेमानको तस्वीर अगाडि उभिएर ‘सेल्फी’ खिचाउँदै ओलीतन्त्रको जयजयकार गर्नेछ ।

२०६५ सालको बुटवल महाधिवेशनबाट काठमाडौंसम्म पुग्दा आधारभूत रूपमा एमालेको नीति, कार्यक्रम र दृष्टिकोणमा खासै परिवर्तन देखा परेको छैन । आन्तरिक पार्टी जीवनलाई सदैव प्रक्रिया र पद्धतिबाट चुस्त राख्न सिपालु भनिने एमालेमा सधैं उठ्ने गरेको बहस थियो– ‘पार्टी व्यक्तिले हैन विधिले चल्नुपर्‍यो । व्यक्ति हैन विधि प्रधान हुनुपर्‍यो ।’

अनि यो बहसमा जहिल्यै सुनिने परिचित स्वर थियो वरिष्ठ नेता माधवकुमार नेपालको । तर, अफसोच ! यसपटक त्यो स्वर सुनिने छैन । सम्भवतः ओलीज्मको अहिलेको सबैभन्दा कम्फर्टेवल अवस्था नै यही हो । किनकि ‘विचार र विधि’ कै कुरा गर्ने घनश्याम भुसालहरूको स्वर निम्छरो नै हुनेछ ।

फेरि उनीहरूको टिप्पणी अब अखबारको इतर विचार कोलममै फिट पनि हुँदै गए झैं प्रतीत हुन्छ । चालढाल, छाँटकाँट अनि भावभङ्गिमा हेर्दा लाग्दैछ– एमालेको यो महाधिवेशनले मर्त्यलोकमा एक थान जिउँदो–जाग्दो ‘देउता’ बनाउनेछ । के चितवनमा हुने महाधिवेशनबाट योभन्दा बढी पनि अपेक्षा गर्न सकिएला र ?