काठमाडौँ – गोरखाका युवराज न्यौपानेले कांग्रेस १४ औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेस आफै परिवर्तन हुनुपर्ने भन्ने मान्यता अघि सार्दै उनले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने भएका हुन्।

गोरखा आरुघाट–८ का स्थायी बासिन्दा न्यौपाने सुरुवाति दिनमा नेविसंघको राजनीतिमा सक्रिय भए पनि पछिल्ला वर्षमा भुगोलबाट कांग्रेस राजनीतिमा सक्रिय छन्। उनले आफूले कांग्रेसको क्रियाशिल सदस्यता पाएको २० वर्ष भइसकेको बताए।

कांग्रेस केन्द्रीय सदस्य वा पदाधिकारीमा उम्मेद्वारी दिन १० वर्ष पार्टीको क्रियाशिल सदस्य भएको हुनुपर्ने मापदण्ड पुरा गरेका छन्। त्यस्तै उनी गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा चयन भइसकेका छन्।

आफ्नो उम्मेद्वारीलाई सहज रुपमा नलिए पनि आफू सुधारका लागि मैदान उत्रन लागेको न्यौपानेले बताए।

‘मेरो उम्मेद्वारीलाई सहज रुपमा रुपमा लिने अवस्था छैन। म सभापतिका लागि हरेक हिसाबले उपयुक्त भए पनि सहज रुपमा लिँदैनन् भन्ने मैंले बुझेको छु’, उनी अगाडि भन्छन्, ‘कांग्रेस नै परिवर्तन गर्न मैंले उम्मेवारी दिन लागेको हुँ। शेरबहादुर देउवा। रामचन्द्र पौडेलभन्दा अब्बल छु। गलत प्रवृतिलाई चुनौति दिनका लागि म उम्मेवारी दिन्छु।’